परीक्षामा फेल भएको र नियमित विद्यालय नआएको भन्दै विद्यार्थी माथि निर्घात कुटपिट

कात्तिक २६ विराटनगर । विराटनगर स्थित अर्पण इङ्लिस स्कूलका शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् ।  मोरङको बुढीगंगा गाँउपालिका २ टंकीसिनवारीका १४ वर्षिया रोश्नी भण्डारीलाई नियमित स्कूल नआएको र परीक्षामा फेल भएको भन्दै शिक्षक निमेष बस्नेतले निर्घात कुटपिट गरेका हुन् । 

बस्नेत अर्पण स्कूलका सञ्चालक समेत हुन् । स्कुलले लिएको दोस्रो सेमेस्टरको परीक्षामा विज्ञान, स्वास्थ्य र भोकेसनलमा फेल भएको तथा नियमित स्कूल नआएको भन्दै सोमबार दिउँसो शिक्षक बस्नेतले रोश्नीलाई पाइपले निर्घात कुटपिट गरेको पिडित विद्यार्थीको भनाई छ । 

शिक्षकको कुटपिटबाट विद्यार्थी भण्डारीको नितम्बमा गहिरो चोट लागेको रोश्नीकी आमा पुष्पा भण्डारीले बताइन् । उनले कक्षा कोठादेखि बाहिर लगेर शिक्षकले निर्घात कुटपिट गरेको बताइन् । ‘सुरुमा छोरीले केहि भनेकी थिइनन्, पछि अत्याधिक दुखाई बढेपछि भनिन् ।’ उनले भनिन्–‘यसरी मर्नेगरी कुट्नु त भएन नी, विद्यार्थीले गल्ती नै गरेको खण्डमा पनि अभिभावकलाई भन्नु पथ्र्यो । त्यो शिक्षकलाई कारवाही हुनुपर्छ ।’ आमा पुष्पाले भनिन् । 

स्कुलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थी कुटपिटको विषयमा कुनै चासो नराखेको पिडित भण्डारीको भनाई छ । ‘रोश्नीलाई कति चोट लागेको छ भन्ने पनि थाहा थिएन । जब दुखाई धेरै हुन थाल्यो त्यसपछि शिक्षकले कुटेको भन्ने बारेमा भनिन् ।’ रात भरी दुखाईले छोरीलाई ज्वरो आएको आमा पुष्पाले बताइन् । 

स्कुलबाट शिक्षिका पठाईदिन्छु भन्दै प्रिन्सिपलले फोनमा भनेपनि स्कुलबाट कोहि नआएको र घटना प्रति वेवास्ता गरेको अभिभावकको भनाई छ । 

‘यसरी संवेदनशिल अंगमा कुटपिट किन गरियो? विद्यार्थीलाई निर्घात कुट्ने शिक्षकलाई निस्कासन गर्नुपर्छ ।’ आमा पुष्पाले भनिन् । स्कुलका प्रिन्सिपल सुवास विष्टले विद्यार्थीमाथि कुटपिट भएको स्विकार गरेपनि ती शिक्षकलाई कारवाही गर्न कुनै चासो दिएका छैनन् । 

‘शिक्षकको विद्यार्थी कुट्ने कुनै इन्टेन्सन हुँदैन तर, आवेगमा आएर कुटपिट भएको हुनसक्छ ।’ विष्टले भने । उनले आफुले अभिभावकलाई स्कुलको पुरानो अभिभावक भएकाले विवादलाई स्कुलमा नै समाधान गरौं भनेपनि उहाँहरुले विद्यार्थी लगिसकेको बताए । 

पीडितका आफन्त मंगलबार निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । उनीहरुले कोशी अञ्चल अस्पतालमा विद्यार्थीको घाउ जाँच गरेर मोरङ प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =