हनुमानढोको दशैँघरमा विधिपूर्वक जमरा राखी घटस्थापना गरियो

असोज १२, काठमाडौँ ।  हिन्दुहरुको महान चाड दशैँको आज पहिलो दिन आईतबार  हनुमानढोकामा रहेको दशैं घरमा धार्मिक विधिपूर्वक जमरा राखी घटस्थापना गरिएको छ ।   

आज बिहान १०ः३५ को शुभसाइत गरी हनुमानढोकाको दशैं घरमा विधिपूर्वक जमरा राखी घटस्थापना गरिएको हो । 

सबैको दीर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै दीप, गणेश र कलशको पूजा गरी दसैँ घरमा  घटस्थापना गरी जमरा राखिएको गुरु ईश्वरप्रसाद अधिकारीले जानकारी गराए । 

 आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गर्ने चलन रहेकाे छ ।  दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो । 

आज घटस्थापनामा जमरा राखेपछी आजदेखि औपचारिक रुपमा दशैँ सुरु भएको मानिन्छ ।  आजको दिन हरेक हिन्दु धर्मावलम्बीहरुको घरमा चोखो स्थानमा गाईको गोबरले लिपपोत गरि विधिपूर्वक पुजा गरेर  जौ वा मकै  छरेर जमरा राख्ने परम्परा रहेकाे छ ।   

घटस्थापना सुरु भएसँगै आजबाट नवरात्री पनि सुरु भएको छ ।  नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । 

यस वर्ष विजयादशमीको टीका असोज २१ गते  १० बजेर ३५ मिनेटमा  शुभसाइत भएको नेपाल पन्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =