‘दुई अंकको आर्थिक बृद्धिदर हासिल गर्न पुँजीगत खर्च बढाउनुपर्छ’

बैशाख २२, काठमाडौं । नेकपाका सांसद नवराज सिलवालले सरकारले ल्याएको नीति तथा कार्यक्रमको स्वागत गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा आजबाट सुरु भएको सरकारको नीति तथा कार्यक्रम माथि छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रमले सवै क्षेत्र र समुदायलाई समेटेको भन्दै प्रमुख प्रतिपक्षले पनि समर्थन गर्नुपर्ने बताए । 

संसदमा बोल्दै सिलवालले विपक्षीहरुले जोडदार रुपमा नीति तथा कार्यक्रममा छलफल गरिरहँदा सकारात्मक रुपमा नभएको बताउँदै मुलुकलाई अगाडी बढाउने सवालमा प्रतिपक्षीको भूमिका सकारात्मक र गुणात्मक हुनुपर्ने औल्याए । ‘लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रतिपक्षको भनाईलाई सुन्ने हो, प्रतिपक्षका साथीहरुले उठाएका कुरालाई सरकारले सकारात्मक रुपमा लिएर जान सक्छ, भने प्रतिपक्षले पनि सकारात्मक साथ दिन आवश्यक छ ।’ उनले भने । 

 

null

सिलवालले सरकारले पुजिगत खर्च तर्फ सोचे अनुरुप खर्च गर्न नसकेपनि ७ प्रतिशतको आर्थिक बृद्धिदर र २७ प्रतिशत सरकारी बचत बढेको भन्दै यसले आउँदा दिनमा दुई अंकको आर्थिक बृद्धि हासिल महत्वपूर्ण आधार तयार भएको बताए । 

दुई अंकको आर्थिक बृद्धिदर पुर्याउनका लागि खर्च बढाउन सक्ने क्षमता अभिबृद्धि गर्नुपर्नेमा जोड दिए । ‘सरकारले डवल डिजिटको आर्थिक बृद्धि हासिल गर्न पुजिगत खर्च बढाउनु पर्दछ । त्यसका लागि सरकारले कर्मचारी संयन्त्र, कानुन र नितीगत पहल गर्न आवश्यक छ ।’ उनले भने । 

सिलवालले अहिले भइरहेको ब्यापार घाटाको स्थिति कम गर्न आयात कम गर्नुपर्नेमा जोड दिए । ‘जवसम्म उत्पादनमा लागत कम गर्न सक्दैनौ तवसम्म निर्यात प्रर्वद्धन गर्न र आयात प्रतिस्थापन गर्न सकिँदैन । उत्पादन बढाउन प्रविधिसँग जोडिनु आवश्यक छ ।’ सिलवालले भने । 

उनले सरकारलले एक वर्षमा हासिल गर्ने र २५ वर्षमा हासिल गर्ने विकासको लक्ष्य तय गरेर जानुपर्ने बताउँदै अल्पकालिन र दिर्घकालिन योजना नबनाईकन अघि बढे आर्थिक संबृद्धिको सपना पुरा नहुने जिकिर गरे । 

उनले उत्पादनको स्रोत जमिन, पुँजी र श्रमलाई प्रभावकारी ढंगले उपयोग गरेर गएको अवस्थामा आर्थिक संमृद्धि सँगै उत्पादनको मुल्य कम हुने दावि गरे । 

सरकारले आर्थिक वर्ष २०७६ देखि १५ औं २५ वर्षे दिर्घकालिन योजना लागू हुने भएकोले सन् २०३० सम्म मुलुकलाई मध्यमस्तरको आय भएको मुलुक बनाउने र २५ वर्ष भित्र उच्च आय भएको मुलुक बनाउने महत्वपूर्ण भिजन ल्याएको समेत दावि गरे । साथै उनले सरकारले ल्याएका नीति तथा कार्यक्रम लागू गर्न सकिने भएको ठोकूवा गरे । 

नेपालमा विदेशी लगानी भित्र्याउने वातावरण सरकारले बनाएको बताउँदै अब मुलुक नयाँ विकासमा प्रवेश गर्ने बताए । उनले नेपालको आर्थिक समुन्नतीको आधार कृषि, जलस्रोत र पर्यटनलाई मात्र नमानी ह्युमन रिसोर्सका कार्यक्रम पनि ल्याउनुपर्ने औल्याए । ‘देश विकासको मुख्य कडी भनेको मानव संसाधन हो, अब ह्युमन सिसोर्स तिर ध्यान दिनुपर्छ, त्यसपछि मात्र कृषि, पर्यटन र जलस्रोतलाई लिएर जानुपर्छ ।’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =