‘पर्यटनको माध्यमबाट गरिबी निवारण गर्नेछौँ, जनवरी एकमा दिपावली मनाऔँ’

पुस १४, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि विभिन्न सम्बन्धित संघ संस्थाहरुको प्रतिबद्धताले ऊर्जा थपिएको बताएका छन् ।

सोमबार भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पर्यटनमन्त्री भट्टराईले भिजिट नेपाल २०२० मा देखिएको राष्ट्रिय एकताले उत्साहित भएको भन्दै थप ऊर्जा थपिएको बताएका हुन् ।

‘भिजिट नेपाल २०२० मा देखिएको राष्ट्रिय एकताले हामी निकै उत्साहित छौँ । सरकार यसको व्यवस्थापक र लगानीकर्ता मात्रै हो । सिंगो देश, नेपाली आयोजक हुन्’, कार्यक्रममा उनले भने, ‘ जनवरी एकका दिन सरकारका तर्फबाट हामी दिपावली मनाउन सम्पूर्ण नेपालीलाई आह्वान गर्दछौँ । यसले नयाँ यात्राको संकेत गर्नेछ । हामी उज्यालोतर्फ अघि बढेका छौँ ।’

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष २०२० भव्य रुपमा मनाइँदैछ । राष्ट्रपतिले उद्घाटन गर्ने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

४ बजेदेखि ७ बजेसम्म चल्ने कार्यक्रममा महानायक राजेश हमालले रंगशालामा उपस्थित सम्पूर्ण स्वदेशी तथा विदेशीलाई मन्तव्य मार्फत् स्वागत गर्नेछन् । त्यस्तै कुटुम्ब ब्याण्डले १०८ सारंगी, १०८ बाँसुरी लगायतका बाजासहित आफ्नो प्रस्तुति राख्नेछन् ।

विदेशी मन्त्रीहरुको शुभकामना सन्देश पनि प्रस्तुत गरिने छ । नेपाल आर्मी, नेपाल प्रहरी तथा एपीएफले पनि विभिन्न सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम छ । साथै नेपाली गायक÷गायिकाले पर्यटन वर्ष २०२० सम्बन्धित ‘नेपाल हेर्न आऊ’ बोलको गीत गाउनेछन् ।

कार्यक्रममा विभिन्न संघसंस्थाले आफ्नो ब्यानरसहित मार्चपास गर्नेछन् । सांगीतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रमबारे विस्तृत जानकारी दिन आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भने, ‘हामीले पर्यटन वर्ष २०२० लाई प्रस्थान विन्दु मानेका छौँ र ३० सम्मलाई पर्यटन दशकका रुपमा लिएका छौँ । हामी भविष्यमा पर्यटनको माध्यमबाट राजस्व बढाई रोजगारी सिर्जनाका साथै गरिबी निवारण गर्नतर्फ जुटेका छौँ । यो अवधिभरी नै पर्यटन प्रवद्र्धनमा लाग्न म सम्पूर्णलाई आग्रह गर्न चाहन्छु ।’

भिजिट नेपाल २०२० को उद्घाटन समारोह ७ वटै प्रदेशमा एकै दिन हुनेछ । दशरथ रंगशालामा विभिन्न देशका पर्यटनमन्त्रीहरुको पनि सहभागिता रहनेछ । भारत, चीन, म्यानमार, युएई, बंगलादेश, कतार, कम्बोडियासहित एक दर्जन मुलुकका पर्यटनमन्त्री आउने निश्चित भइसकेको छ ।

स्वदेशी तथा विदेशी मिडियाहरुबाट कार्यक्रमको लाइभ गरिने छ ।

भ्रमण वर्षका निम्ति नेपाल सरकारले ९ करोड रुपैयाँ छुट्याएको छ भने भ्रमण वर्षको सचिवालयले ६५ करोड रुपैयाँको बजेट अनुमान गरेको छ । अपुग बजेट नेपाल सरकारले दिने जानकारी दिइएको छ ।

नेपालको इकोनोमीमा १० प्रतिशत योगदान पर्यटन क्षेत्रको पुर्याउने तथा पर्यटकहरुले नेपालमा खर्च गर्ने ल्याकत पनि बढाउने पर्यटन मन्त्रालयको भावी योजना छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१७ मा एक जना पर्यटकले प्रतिदिन ५४ डलर खर्च गरेका थिए । तर, सन् २०१८ मा त्यो बढ्नुको साटो घटेर प्रतिदिन ४४ डलरमा झरेकोे छ । यसलाई ८० डलरमा पुर्याउने पर्यटन मन्त्रालयको योजना छ ।

त्यस्तै पर्यटकको औसत नेपाल बसाइँ अवधि गतवर्ष १२ दशमलव ६ दिन थियो भने यो वर्ष १२ दशमलव ४ दिनमात्रै रहेको छ । यसलाई पनि लम्ब्याउने तर्फ मन्त्रायलको प्रयास रहने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *