चितवनको खैरहनीमा भोलिदेखि खिचरा महोत्सव सुरु हुँदै

पुस २७, चितवन । पूर्वी चितवनमा भोलि (पुस २८) देखि माघ ७ गतेसम्म खिचरा महोत्सव आयोजना गरिने भएको छ ।
थारु समुदायहरुको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैठौं संस्करण यस बर्ष पनि हुन लागेको हो ।
null
आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर–७ खैरहनीले पत्रकार सम्मेलन गरी पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा महोत्सव हुन लागेको जानकारी गराएको हो ।
यसवर्षको महोत्सवलाई विशेष बनाउन थारु संस्कृतिसँग जोडिएका कार्यक्रमहरुलाई विशेष जोड दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणि चौधरील जानकारी दिए ।
चितवन जिल्लामा आदिमकालदेखि आदिवासी थारु समुदायको बसोबास रहेको छ ।
महोत्सवमा थारु संस्कृति झल्कने घरहरुका साथै खानाका परिकारहरु, थारु सांस्कृतिक मिनी संग्राहलय, घोघीं र चिचरको मूर्ति, हाँस समाउने प्रतियोगिता, चेपाङ र दराई जातिका परम्परागत खानाका परिकारसंँगै विभिन्न प्रतियोगितात्मक खेलहरु आयोजना गरिएको छ ।
त्यस्तै, महोत्सवमा बाल उद्यान, कृषि परिसर, अटो परिसर लगायतका स्टलहरु रहनेछन् । महोत्सवमा २ सय स्टल रहने र करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
यसवर्ष राष्ट्रिय तथा स्थानीय कलाकाहरुको विशेष प्रस्तुती रहने सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।
महोत्सवमा गायक दीपक बज्राचार्यसँगै रिदम ब्याण्डको विशेष प्रस्तुती हुनेछ । यस्तै चर्चित कलाकारहरु अन्जु पन्त, हेमन्त शर्मा, कालीप्रसाद बास्कोटा, पशुपति शर्मा, मिलन लामा, मनोज महतो, स्वप्न सुमनसंगै सुरेश लामा, नरेश जोगी, अर्जुन कौशल, सन्ध्या बुढा (काउली बुढी), मिस्टर एण्ड मिस थारुका प्रतियोगीहरु, स्थानीय व्याण्ड तथा कलाकारहरुको मूख्य प्रस्तुती रहने आयोजकले जनाएको छ ।
थारु कल्याणकाररिणी सभा, क्षेत्र नम्बर ७ खैरहनी चितवनले आयोजना गरेको महोत्सवमा नेपाल पर्यटन बोर्ड र खैरहनी नगरपालिका प्रवद्र्धकका रुपमा रहेका छन् ।








