यो सरकार बोल्न मात्र सक्छ, काम गर्न सक्दैन : काँग्रेस नेता पौडेल

चितवन, कात्तिक २७ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार बोल्न मात्र सक्ने र केही काम गर्न नसक्ने आरोप लगाएका छन् । आज बिहान भरतपुर बिमानस्थलमा भएको पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले सरकारको तिब्र आलोचना गर्दै सरकारले केही काम नगर्दा जनतामा व्यापक निराशा छाएको बताए । उनले भने, ‘सरकारलाई काम गर्न कसैले छेकेको छैन, प्रतिपक्ष शान्त भएर बसेको छ तर पनि केही काम भएको छैन ।’
नेता पौडेलले अहिलेको कम्युनिष्ट सरकारलाई काम गर्नको लागि यति धेरै अनुकुल नेपालको इतिहासमा कहिल्यै नआएको बताए । उनले अहिलेको सरकारले सपना बाँडेको र समृद्धिको दिशामा जान नसक्ने बताए । नेता पौडेलले अहिलेको सरकार हल न चलको अवस्थामा रहेको बताए । आउँदै गरेको नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफूले हालसम्म उम्मेद्वारीको कुनै तयारी नगरेको नेता पौडेलको भनाइ थियो । पत्रकारमाझ उनले भने, ‘मेरो ध्यान उम्मेद्वारीमा छैन, पार्टीलाई कसरी सुधार्ने र कसरी पार्टीलाई अगाडि बढाउने भन्नेमा केन्द्रित छ ।’ नेता पौडेलले महाधिवेशन आउने बेलासम्म उम्मेद्वारी दिने/नदिने विषयमा फाइनल हुने बताए । पत्रकारहरुले सुजता कोइरालाको निवासमा भएको छलफलको निर्णयहरु के–के हुन् ? भनेर सोधिएको प्रश्नमा बरिष्ठ नेता पौडेलले सामान्य छलफलमात्र भएको जनाए । उनले भने, ‘नेताहरुबिच पहिलेजस्तै हुने गरेका सामन्य छलफल मात्र हो ।’ काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाको पहलमा उनकै निवास मण्डिखाटारमा पौडेल पक्षिय नेताहरुको छलफल भएको थियो । छलफलले आफुखुसी उम्मेद्वार घोषणा नगर्ने सहमति भएको छ । नेता पौडेलले यस विषयमा थप कुरा खोल्न चाहेनन् ।
नेता पौडेलले काँग्रेस नेतृत्वलाई केन्द्रीय समिति नबढाउन आग्रह गरेका छन् । उनले भने, ‘केन्द्रीय समिति बढाउँदा पदाधिकारी पनि बढ्छ, त्यसैले केन्द्रीय समिति पनि बढाउनु हुँदैन, पदाधिकारी पनि बढ्दैन ।’
null








