निर्मला हत्याकाण्ड: संघर्ष समितिले आज र भोलि आन्दोलन स्थगित गर्यो

कञ्चनपुर। बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि जारी आन्दोलन दुई दिनका लागि स्थगित भएको छ। नागरिक संघर्ष समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो।
भीमदत्त नगरपालिकाले पुस १५ गते आयोजना गर्ने जैविक मार्ग म्याराथुन मार्चका कार्यक्रमलाई मध्यनजर गर्दै दुई दिनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको नागरिक संघर्ष समिति कञ्चनपुरले जनाएको छ।
जैविक मार्ग म्याराथुन मार्च(दौड प्रतियोगिता) लाई सफल बनाउनका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको संघर्ष समितिका प्रवक्ता नरबहादुर साउदले बताए।
null
आन्दोलन पूर्ण रूपमा स्थगन नभई दुई दिनका लागि मात्र भएको उनको भनाइ रहेको छ। संघर्ष समितिको पूर्वघोषित कार्यक्रमअनुसार पुसमा १४ मा कञ्चनपुर बन्द र पुस १५ मा महेन्द्रनगर बजारमा विरोध र्याली आयोजना गर्ने कार्यक्रम तय गरेको थियो।
दुई दिन आन्दोलन स्थगित भएपछि उक्त आन्दोलनका कार्यक्रम १६ र १७ गते हुने भएका छन्। त्यस पछिका आन्दोलनका कार्यक्रमका लागि १८ गते बस्ने बैठकले निर्णय गर्ने बताइएको छ।








