पहिरोको उच्च जोखिममा छन् याङवरक गाउँपालिकाका ६ बस्ती

 

असार ११, याङबरक । निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका ६ बस्तीहरु पहिरोको चपेटामा परेका छन्। 

उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मंगलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिए । 

null

पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ।यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ। वडाध्यक्ष योङहाङका अनुसार मङ्गलबार रातिदेखि नै स्थानीयवासी सुरक्षित स्थानको खोजीमा निस्किएका छन्। 

चिङ्माका १४ घरपरिवार सुरक्षित स्थानको खोजीमा डुँडे चौर भन्‍ने स्थानमा पुगेको वडाध्यक्ष योङहाङले जानकारी दिए । स्थानीयवासीका गाई तथा चौँरी गोठ पहिरोले बगाएको छ। यद्यपि क्षतिको पूर्ण विवरण प्राप्त हुन नसकेको वडा सदस्य प्रेमबहादुर राईले जानकारी दिए । 

पहिरोका कारण यी बस्तीहरुमा सञ्चालित मेजर चिङ्मा रवि खोला लघु जलविद्युत् आयोजनामा क्षति पुगेको छ।आयोजना अवरुद्ध भएपछि स्थानीयवासीसँग सम्पर्क हुन नसकेको वडाध्यक्ष योङहाङले जानकारी दिए । 

उनका अनुसार निरन्तर वर्षा भइरहेका कारण यी छ वटै बस्तीका स्थानीय सुरक्षित स्थानका खोजीमा निस्किएका छन्।’हालसम्म करीब ३० परिवार सुरक्षित स्थानको खोजीमा निस्किएको सुनिएको छ’, योङहाङले भने, ‘निरन्तर वर्षा भए पहिरो जानसक्ने भयले स्थानीय घरबाट निस्किएका हुन्। वर्षा रोकिएमा विस्थापित हुने थिएनन्।’ 

गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको र टोली फर्किएपछि उक्त स्थानको वास्तविक अवस्था थाहा हुने बताए । 

उनले पहिरोको क्षति र भयबाट विस्थापित स्थानीयवासीको अस्थायी बसोबासका लागि राहत सामग्री सदरमुकाम फिदिमबाट मगाइएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार च्याङथापु तथा फलैँचा बजारमा रहेको प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । 

उनले पहिरोका कारण एक घर बगेको, पशुचौपाया बगाएको तथा दर्जनौँ स्थानीयवासी घर छोडेर सुरक्षित स्थानको खोजीमा लागेका छन्।घटनास्थलतर्फ गएको प्रहरी टोली घटनास्थलबाट फर्किएपछि वास्तविक अवस्था पत्ता लाग्ने पौडेलले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =