नेपालमा पहिलोपटक अश्वमेध महायज्ञ आयोजना हुँदै

काठमाडौं, १३ फागुन । नेपालमा पहिलोपटक यही फागुन १९ गतेदेखि २२ गतेसम्म (३–६ मार्च, २०१९) अश्वमेध महायज्ञको आयोजना हुने भएको छ । साँस्कृतिक तथा व्यापारिक महानगर वीरगन्जको आर्दशनगर रंगशालामा उक्त महायज्ञ हुने भएको छ ।  

सोमबार अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सोको जानकारी गराएको हो । अखिल विश्व गायत्री परिवारको अयाोजना तथा वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वय साथै विभिन्न धार्मिक, आध्यात्मिक, सामाजिक संघ/संस्थाहरुको सहभागितामा सनातन विधिविज्ञानसहित २५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी यो महायज्ञ सम्पन्न हुने आयोजकले विश्वास दिलाएको छ ।  

 

null

उक्त महायज्ञको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ भने महायज्ञको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते सोही स्थानमा गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार फागुन १९ गते विहान ८ बजेदेखि विहान ११ बजे कलश र विभिन्न झाँकीसहितको कलशयात्रा हुनेछ । 

त्यस्तै विश्व गायत्री परिवारका प्रमुखद्धय डा. प्रणव पण्ड्या र शैलवाला पण्ड्ये सम्बोधन गर्ने कार्यक्रम रहेको छ । फागुन २० गते विहान बजेदेखि अश्वमेध देवपुजन एवं महायज्ञ हुने पनि आयोजकले जनाएको छ । सोही दिन साँझ ५ बजेदेखि सत्संग, प्रवचन एवं सांस्कृतिक कार्यक्रम पनि रहेको छ । 

त्यस्तै, आयोजकका अनुसार फागुन २१ गते विहान बजे अश्वमेध यज्ञ एवं १२ संस्कारको कार्यक्रम राखिएको छ । सोही दिन साँझ एक लाख बत्तिकको भव्य दीप महायज्ञको कार्यक्रम राखिएको छ । फागुन २२ गते विहान ८ बजेदेखि यज्ञ संस्कार एवम् अश्वमेध महापूर्णाहुति दिने कार्यक्रम राखेको छ ।  

 

मूल आयोजक समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो यज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य नै राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने रहेको विश्वास दिलाए । महतोले थपे,‘यसको साथै यो एउटा आध्यात्मिक प्रयोग पनि हो ।’ उनले भने, ‘मान्छे शक्तिशाली बन्नको लागि पहिले आफ्नो क्षमता थाहा पाउनुपर्छ, आफ्नो क्षमता थाहा नभए केही पनि गर्न सकिँदैन् । नेपाल तपोभुमी हो, देव भुमी हो । ऋषिमुनिहरुको भूमि हो । यसलाई पुरा विश्वमा चिनाउनको लागि महायज्ञ फलदायी हुनेछ ।’ 

आफूले विश्वका धेरै विकसित राष्ट्रहरुको भ्रमण गर्दा ती देशहरुमा धर्म भनेको विज्ञान हो भन्ने कुरामा कहीँकतै भिन्नता नपाएको पनि महतोले सुनाए । उनले भने,‘वास्तवमा धर्म विज्ञानभन्दा बाहिरको कुरा होईन् । हाम्रो देश आध्यात्मिक रुपमा, सामाजिक–साँस्कृतिक रुपमा धेरै धनी छ र संस्कारको कुरा गर्नुहुन्छ भने हामी नेपालीहरु पनि धेरै अगाडि छौं ।’ 

उनले नेपालीहरुले नेपाललाई अमेरिकाजस्तो बनाउने कुरा गरेपनि अमेरिकाको पैसामा ‘ईन गड, वी ट्रष्ट’ भनेर लेखिएको कुरामा पनि नेपालीहरुले ध्यान दिनुपर्ने बताए । उनले उक्त महायज्ञमा पुरै देशवासीहरुको सहभागिता हुनुपर्नेमा जोड दिए ।उनले भने,‘सहभागिताको अर्थ हामीले अर्थ दान गरेर पनि गर्न सक्छौं, श्रम दान गरेर पनि सहभागिता जनाउन सक्छौं । अर्को भनेको वाकदान पनि गर्न सक्छौं ।’ यो महायज्ञले विशेष शक्ति प्रदान गर्नेपनि उनले जिकिर गरे । उनले भने,‘जुन ठाउँमा महायज्ञ भएको छ, त्यहाँ विशेष प्रभाव पर्छ नै, अरु ठाउँमा पनि यसको प्रभाव पर्छ ।’ 

महायज्ञमा ५ लाखभन्दा बढिको सहभागिता रहने उनले जनाए । 

महतोले महायज्ञमा कति लागत लाग्ने ? भन्ने विषयमा आफूहरुले कुनै हिसाबकिताब नगरेको स्पष्ट पारे । उक्त कार्यक्रम कुनै धर्म विशेषलाई लक्षित नभएको उनले जिकिर गरे । ‘यो महायज्ञमा सबै धर्ममा विश्वास गर्नेहरुको सहभागिता हुन्छ। कुनै धर्मविशेषको यो कार्यक्रम होईन् ।’ उनले भने । 

महायज्ञमा ६० हजारले बसेर हवन गर्ने र ‘फस्ट कम, फस्ट सिट’ गर्नेपनि उनले जनाए ।  

कार्यक्रममा अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका संयोजक एवम् वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले तीन वर्षको अथक मेहनत र लगातार प्रयासपछि नै पहिलोपटक नेपालमा उक्त महायज्ञ आयोजना गर्न लागेको सुनाए ।  

उनले उक्त महायज्ञ आयोजनाको लुकेको उद्देश्य भनेको नै वातावरीय पर्यावरणको रक्षा गर्नुपनि रहेको सुनाए । उक्त महायज्ञमा सबै श्रद्धालु र भक्तालुहरुलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको पनि संयोजक सरावगीले जनाए । उनले भने,‘अहिलेपनि २ लाखले अनलाईन रजिष्ट्रेशन गरिसक्नुभएको छ ।’ 

अश्वमेध महाप्रयोगबाट प्रस्फुटन हुने यज्ञ उर्जाबाट समस्त देशबासीमा सद्गुण, सद्भाव, सद्विचार, सत्कार्य र समताभावको प्रेरणा मिल्नेपनि आयोजकले विश्वास लिएको छ । विज्ञप्तीमा थप भनिएको छ,‘यस्ता विराट अनुष्ठानहरुले राष्ट्रदेवता र जीवनमूल्यप्रति विश्वास जागृत गर्दै जीवन जिउने कला समेत सिकाउँछन् ।’ 

नेपाल र भारतलगायत विभिन्न ४० देशबाट महायज्ञमा श्रद्धालुहरुको उपस्थिति हुने उक्त महायज्ञ प्रचार प्रसार समितिका सह–संयोजक डा. राजु अधिकारीले जानकारी दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =