धरानबाट गरगहना चोरी गर्ने दुई जना पक्राउ

वैशाख १, धरान। धरानमा चोरीमा संलग्न दुई जना युवा लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा धरान-१७ बगान टोलका दनी राई र धरान-११ सिर्जना चोकका हिमाल राई रहेका छन्।
शनिवार राती धरान-११ स्थित सपना ज्वेलर्समा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ज्वेलर्सबाट करिब १ लाख ४० हजार मूल्यको बराबरको चाँदीका गरगहनाहरू चोरी भएको बताइएको छ। प्रहरीमा ज्वेलर्समा चोरीभएको उजुरी परेपछि उनीहरुको खोजी सुरु भएको थियो।
इलाका प्रहरी कार्यालय धरानले चोरीमा संलग्न उनीहरुलाई आज धरानबाट पक्राउ गरेको हो। पक्राउ परेका दुइ युवाको साथमा खैरो हिरोइनसमेत भेटिएको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ५०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









