एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

“काठमाडौं, माघ १८। एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ । स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज राखेको छ । त्यस अघि भेट भएको हो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।
भारतीय विदेशमन्त्री बिहीबार अपराहृन काठमाडौं आएकी हुन् । उनले भोलि राष्ट्रपति, प्रधानमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड लगायतलाई भेट्ने कार्यक्रम छ ।
सुष्माको सातौं नेपाल भ्रमण
सन् २०१४ को मे महिनामा भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि सुष्माको यो सातौ नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीष कुमारले सातौ नेपाल भ्रमणको शिलशिलामा स्वराज काठमाडौं प्रस्थान गरेको ट्वीट गरेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा स्वराज पहिलो पटक नेपाल भ्रमणमा आएकी थिइन् । दोस्रो पटक उनी सार्क सम्मेलनको समयमा काठमाडौंमा आएकी थिइन् ।
२०७२ सालमा विनासकारी भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी दाता सम्मेलनमा सहभागि हुन २०७२ असार ९ गते नेपाल भ्रमणमा आएकी थिइन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा श्रद्धान्जली दिन उनी नेपाल आएकी थिइन् ।
पछिल्लो पटक उनी बिमिष्टेकको सम्मेलनमा सहभागि हुन गत साउन २६ गते काठमाडौं आएकी थिइन् । तत्कालिन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण र सार्क मन्त्रीस्तरीय बैठकमा सहभागि हुन नेपाल भ्रमणमा आएकी थिइन् ।”








