प्रदेश नं ७ का प्रमुख मोहन मल्ल को हुन् ?

“
धनगढी, माघ ४ । करीब चार दशकभन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मोहन मल्ल प्रदेश प्रमुख मा मनोनयन भएका छन् । मल्ल नेपाली काँग्रेसका महासमिति सदस्य हुन् ।
मल्ल २०३७ सालदेखि २०४६ सम्म राष्ट्रिय पञ्चायत सदस्य समेत रहेका थिए । २१ वर्षको उमेरमै राजनीतिमा होमिएका मल्लले २०२८ सालमा कैलालीको पण्डौन गाउँ पञ्चायत प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायत उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष, २०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार तथा त्रिभुवन विश्व विद्यालयको सभासद भएर पनि अनुभव लिइसकेका छन्।
नैतिकवान, इमान्दार तथा आदर्शको राजनीति गर्ने नेताका रुपमा परिचित मल्ल पञ्चायती शासन कालमा समेत कुनै पनि विवादमा नमुछिएका निस्कलंक राजनीतिज्ञ मानिन्छन् ।
पञ्चायत र झण्डै दुई दशक राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधान सभा सदस्य निर्वाचनअघि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । कैलालीको भजनी नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने मल्लले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएका उनले महेन्द्र भुषण पदक पनि प्रात गरेका थिए । मल्लले विद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तर प्रदेश राज्यको लखनउबाट पुरा गरेका हुन् ।
उनले अमेरिका, बेलायत, इटली, फ्रान्स, जर्मनी, चीन, रुस, थाईलैण्ड, सिंगापुर, , जापान, उत्तरकोरिया, साईप्रस, संयुक्त अरब ईमिरेट, कुवेत, चेकोस्लाभिया, हंगेरी, पोलेण्ड, बुल्गेरिया र स्विजरल्याण्ड लगायतका मुलुकको भ्रमण गरेका छन् ।
प्रजातन्त्र पुनर्बहालीपछि २०४८, २०५१, २०५६ र २०६४ को आम निर्वाचनमा राप्रपाबाट चुनाव लडेका मल्लले सधैं दोस्रो स्थान प्राप्त गर्ने गरेका थिए ।
प्रदेश प्रमुख नियुक्तिसंगै प्रदेश सभा सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउने, समानुपातिकतर्फको मतगणना परिणाम घोषणा लगायतका प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।
“








