नेइमारले काभानीसँगको सम्बन्धबारे भने – हावा कुरा फैलाइयो

“
काठमाडौं, असोज १३ – ब्राजिलियन स्टार फुटबलर नेइमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) का आफ्ना साथी एडिसन काभानीसँगको सम्बन्धबारे मिडियाले नभएको कुरा पनि लेखेको बताएका छन् ।
केही ज्ञान नै नभएको विषयमा समेत मनपरि समाचार बाहिर आएको भन्दै उनले आपत्ती जनाएका छन् । ‘धेरै नै समाचार बनाइए । धेरै कुरा पनि भए । यस्ता कुरासमेत आए जुन कुराको बारेमा कसैलाई पनि थाहा छैन । ड्रेसिङ रुममा भएको भन्दै हुँदै नभएका कुरा पनि बाहिर आए’ नेइमारलाई उद्धृत गर्दै इएसपिएनले लेखेको छ ।
लिग वान फुटबलमा पिएसजी र लियोनबिचको खेलमा पेनाल्टी कसले प्रहार गर्ने भन्नेबारे उनीहरुबिच देखिने गरी नै विवाद भएको थियो । विवादपछि काभानीले हानेको पेनाल्टी लियोनका किपरले बचाएका थिए । लियोनका खेलाडीको आत्मघाती गोलले पिएसजी २–० ले विजयी भएको थियो ।
लियोनसँगको खेलमा देखिएको विवादपछि नेइमार र काभानीको सम्बन्धलाई लिएर निकै कुरा बाहिर आएका थिए । पेनाल्टी कसले हान्ने भन्ने विवादलाई सल्टाउन पिएसजीले काभानीले नै पेनाल्टी हान्ने निर्णय पनि गरेको थियो । विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमार र काभानीलाई पेनाल्टी विवादपछि अहिलेसम्म एक अर्कालाई आँखामा आँखा जुधाएर हेरेको समेत देखिएको थिएन ।
एडिसन काभानीले नेइमारलाई पिएसजीको ड्रेसिङ रुममा पहिलो पटक पुगेको बेला ‘के तिमी आफूलाई मेस्सी सम्झेका छौ ?’ भनेको लगायतका खबर बाहिर आएका थिए । जुन कुरा हावा तालमा फैलाइएको र झुठो रहेको नेइमारले बताएका छन् ।
काभानीले पनि आफूहरु परिवार जसरी क्लबमा रहेको बताएका छन् । ‘सबैका आफ्नै सोच हुन्छन् । आफ्नै तरिका हुन्छन् । केही कुरालाई हेर्ने फरक फरक नजर हुन्छ । हामी जब मैदानमा हुन्छौँ परिवार जसरी रहन्छौँ । हामी सबैले एक परिवारले जसरी एउटै उद्देश्यका लागि काम गर्नुपर्छ जसले टिमलाई जिताउन सकिन्छ’ उनले भने ।
“








