सुशासनको कुरा गर्ने सरकार भ्रष्टाचारमा लिप्त छ: नेता सिंह

पुस २७, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको काम कारवाही र गतिविधि भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा अगाडि सारेको भएपनि सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको बताएका हुन् ।
null
पत्रकार सम्मेलनमा उनले जनतालाई केन्द्रविन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको जस्तो देखिएको धारणा व्यक्त गर्दै नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाए ।
‘दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको हो’, नेता सिंहले भने ।
नेता सिंहले नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न नसकिने पनि बताए। समय हुँदा काम नगर्नेहरुबाट नयाँ आश गर्न नसकिने बताउँदै उनले अहिलेको कार्यसमितिको म्याद थप्न हुँदैन भने ।
त्यस्तै वाइडबडी भ्रष्टाचार प्रकरणबारे बोल्दै नेता सिंहले वाइडबडि जहाजमा भएको भनिएको भ्रष्टाचारबारे संसदीय समितिमा छलफल हुन नपाउँदै छानबिन गर्न छुट्टै समिति गठन गर्नुले सरकारको नियतमा प्रश्न उठेको बताए ।
वाइडबडी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्नेमा संसदको क्षेत्राधिकारलाई नाघेर छुट्टै उच्चस्तरीय आयोग गठन गरिएकोमा उनको आपत्ति छ ।








