अध्यापन अनुमतिपत्रको व्यग्र प्रतीक्षामा विद्यार्थी

बैशाख २०, काठमाडौं । सरकारले शिक्षक लाइसेन्स अर्थात् अध्यापन अनुमतिपत्रको विज्ञापन बेलैमा नखोल्दा विद्यार्थी अन्योलमा परेका छन् । गत चैत महिनामा माध्यमिक तहका लागि मात्र अस्थायी अध्यापन अनुमतिपत्रको विज्ञापन खोले पनि प्राथमिक र निम्न माध्यमिक तहको अध्ययन अनुमतिपत्र नखोलेको झन्डैं तीन वर्ष पुरा भइसकेको छ ।
यसले पढाइ सकेर बसेका र शिक्षाशास्त्र संकायका साथै पछिल्लोपटक मानविकीतर्फका गणित, अंग्रेजी विज्ञान संकायतर्फका र इन्जिनियरिङको अध्ययन पूरा गरी बसेका विद्यार्थीलाई धेरै असर पारेको देखिन्छ । अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्छ भनिएता पनि आजसम्म नखुल्दा विद्यार्थीमा निराशा उत्पन्न भएको छ ।
null
अघिल्लो साल शिक्षकको विज्ञापन गर्दा लाइसेन्स लिएका करिब ७ लाख विद्यार्थी रहकोले अनुमतिपत्र नखोलिएको शिक्षक सेवा आयोगले भनेको छ । यद्यपि, वर्षैपिच्छे अध्यापन अनुमतिपत्र खोलिदिने हो भने बेलाबखत शिक्षक सेवा आयोगले लिने परीक्षामा सहभागी हुन पाउने थिए ।
कति विद्यार्थी त शिक्षक सेवा आयोगको आफ्नो वार्षिक क्यालेन्डरमा विज्ञापन प्रकाशन गर्ने र पदपूर्ति गर्ने व्यवस्था नहुँदा परदेश हिँड्न बाध्य भएका छन् । अघिल्लो वर्ष प्राथमिक र निम्न माध्यमिक तहको विज्ञापन नखोलिँदा शिक्षकको परीक्षाबाट बिमुख हुनुपरेको विद्यार्थी वर्गको धेरै गुनासो छ । पछिल्लो समयमा शिक्षामा पुनर्संरचना आएपनि यतिका समय विद्यार्थीलाई अनुमतिपत्रको आशमा कुराउनु राम्रो होइन ।
शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षाको नतिजा पनि लगभग सकेर खुलातर्फको नतिजाको निरन्तरतामा रहँदै गर्दा यही बेलामा अध्यापन अनुमतिपत्रको विज्ञापन गरियो भने अब खुल्ने शिक्षक सेवा आयोगको परीक्षामा सबैले प्रतिस्पर्धा गर्न पाउने र प्रतिभा पलायनमा यसको न्यून असर मात्रै पर्नेछ ।
सेना, प्रहरी तथा अन्य लोकसेवा आयोगको तयारी नगर्ने र त्यस्ता प्रतियोगितामा उमेर तथा अन्य कारणले बाहिर रहेकालाई पनि शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमति पत्रले केही रूपमा भए पनि राहत मिल्ने देखिन्छ । यस विषयमा शिक्षा मन्त्रालय शिक्षा विभाग र शिक्षक सेवा आयोगको बेलैमा ध्यान पुगोस् ।








