च्याउ खेतीबाट मासिक एक लाख आम्दानी
“
भदौ ८, मोरङ । च्याउ खेती गरेर उर्लाबारी नगरपालिका– ७ का ३५ वर्षीय देवेन्द्र बस्नेत र ३२ वर्षीय गोपाल बस्नेतले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहनु भएको छ । चार वर्षदेखि बस्नेत दाजुभाइ व्यावसायिक रूपमा च्याउ खेतीमा लाग्नुभएको हो । उनीहरूले आधुनिक च्याउ उद्योग सञ्चालन गर्दै आएका छन् । सामान्य रूपमा बस्नेत दाजुभाइले १८ वर्षदेखि च्याउ खेती गर्दै आएका हुन् ।
बस्नेत दाजुभाइले रु एक हजारको लागतबाट च्याउ खेती सुरु गरेका हुन् । यति बेला उनीहरूको लगानी रु एक करोड पुगेको छ । उहाँहरूले च्याउ बिक्रीका लागि दुईवटा गाडी समेत किन्नु भएको छ ।
“दैनिक ३०० किलोदेखि ५०० किलोसम्म च्याउ उत्पादन हुन्छ,” देवेन्द्रले भन्नुभयो । बस्नेत दाजुभाइले च्याउका साथै बीउ समेत उत्पादन गरी बिक्री गर्दै आउनु भएको छ । उहाँहरूले दैनिक काठमाडौँ, पोखरा, हटौँडा, महेन्द्रनगर, दाङसहित पूर्वका अधिकांश स्थानमा च्याउको बीउ बिक्रीका लागि पठाउने गर्नुभएको छ । कन्यू, डल्ले, सिताके, हवाइट मिल्के र पिङ्क च्याउ उत्पादन गर्दै आएको देवेन्द्रले बताउनुभयो ।
च्याउलाई दुईदेखि तीन दिनसम्म राख्न सकिने ¥यापिङ मेसिन नहुँदा उत्पादित च्याउलाई भण्डारण गर्न नसकेको अर्का व्यवसायी गोपालले भन्नुभयो । गोपाल चार वर्ष साउदी अरबमा मजदुरी गरेर फर्किनु भएको हो । “अहिलेसम्म सरकारी अनुदान पाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । रासस
“