निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा अर्गानिक फलफुल उत्पादन हुँदै

पुस १५, धरान । एक नं. प्रदेशको एक मात्र गल्फ खेल स्थल निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा विभिन्न प्रजातिका फलफुलका बोटहरु हुर्कंदो क्रममा छन् ।
धरान स्थित गल्फ कोर्षलाई अझ रमणीय बनाउन तथा अगार्निक फलफुल उत्पादन गरी पाहुनालाई स्वागत सत्कार गर्न एक वर्षअघि फलफुलको बृक्षरोपण गरिएको थियो । दुई हजार पाँच सय बढि फलफुलका विरुवा रोपिएकोमा कतिपय बोटले उत्पादन समेत शुरु गरेको निर्वाणा कन्ट्री क्लबले जनाएको छ ।
एक नं. प्रदेशको एक मात्र गल्फ खेल मैदानलाई ब्यवस्थित गर्दै धरानलाई गल्फ खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा पुर्याउन लागि परेको निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टले वातावरणीय संरक्षण र प्रर्वद्धनमा समेत सहयोग पुर्याउँदै आएको छ ।

अहिले गल्फ स्थलको दक्षिणपश्चिम जंगलको खाली क्षेत्रमा आँप, अम्बा, कागती, नरीवल, काजु लगायत उन्नतजातका फलफुलका बोटविरुवा लगाइएको छ । कलमी गरिएका कतिपय फलफुलका बोटले उत्पादन समेत दिन शुरु गरेका छन् । कागती, अम्बा, आँपका बोटमा फल लाग्न शुरु गरेका छन् ।
‘निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा आउने पाहुना तथा घोपा क्याम्पभित्र बसोबास गर्ने स्थानीयलाई अर्गानिक फलफुल उपलब्ध गराउन र वातावरण संरक्षणमा समेत टेवा पुगोस भनेर हामीले फलफुल रोपेका हौं ।’ निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टका मेनेजर प्रवेश लिम्बुले भने ।
रिसोर्टले रोपिएका फलफुललाई उचित स्याहारसुसार गर्न र पर्याप्त पानीको ब्यवस्था गर्न रिसोर्टले आफैं बोरिङ गरेर पानी निकालेको छ भने, फलफुलको स्याहारसुसार गर्न कर्मचारी समेत ब्यवस्थापन गरेको छ ।
एक नं. प्रदेशकै एक मात्र गल्फ सेन्टरका रुपमा रहेको निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा गल्फ खेल मैदानसँगै सुविधा सम्पन्न रेस्टुरेन्ट, आरामदायी कटेजहरुको ब्यवस्था छ । शान्त रमणीय हरियालीयुक्त वातावरणमा रहेको रिसोर्टमा आउने पर्यटकहरु त्यहाँको प्राकृतिक वातावरणमा रमाउने गर्दछन् ।
दिनहुँको शहरी कोलाहलबाट मुक्त भएर प्राकृतिक शान्त वातावरणमा मन वहलाउनेहरुका लागि निर्वाणा कन्ट्री क्लब एण्ड गल्फ रिसोर्ट पूर्वकै सुन्दर स्थलमा रुपमा परिचित छ ।
रिसोर्टले पूर्वको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न तथा आन्तरिक पर्यटनलाई टेवा पुर्याउन साथै सरकारले भर्खरै शुरु गरेको भिजिट नेपाल २०२० को लक्ष्यलाई सघाउन समेत कार्य गर्ने रिसोर्टका सञ्चालक शशीराम भण्डारीले बताए । धरानमा मात्र नभएर पूर्वमै गल्फ खेललाई ब्यवसायीक बनाउन निर्वाणा कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
क्लबले सुर्य नेपाल इष्टर्न ओपन गल्फ टुर्नामेन्ट जस्तो ठूलो प्रतियोगिता मात्र सञ्चालन गरिरहेको छैन, स्थानीय तहमा प्रतिभावन खेलाडीलाई उत्प्रेरणा दिन गल्फ खेलको तालिम र विभिन्न संघ संस्थासँगकाे सहकार्यमा प्रतियोगिता समेत सञ्चालन गर्दै आइरहेको छ ।








