सर्पले डसेर सर्लाहीमा एक बालकको मृत्यु

सर्लाही, साउन २१ । सर्पले टोेकेर सर्लाहीको घुर्कौलीमा एक बालकको मृत्यु भएको छ । हरिवन नगरपालिका वडा नं. ५ घुर्कौलीका शेष साहिवको गोमन सर्पको टोकाईबाट मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका उनलाई राती करिब ११ बजे गोमन सर्पले टोकेको परिवारले जनाएको छ । उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर लगिएको थियो तर अवस्था गम्भीर रहेको भन्दै त्यहाँका स्वास्थ्यकर्मीले उपचार संभव नभएको भन्दै वीरगञ्ज जान सुझाव दिएका थिए । वीरगञ्ज लाने क्रममा बालकको बाटैमा ज्यान गएको आफन्तले बताएका छन् ।

बर्खायाम सूरुभएसँगै सर्लाही सहित तराईका जिल्लामा सर्पदंशका बिरामी बढेका छन् । हिजोआज सर्पदंश उपचार केन्द्र नवलपुरमा मात्रै दैनिक ३÷४ जना सर्पदंशका बिरामी उपचारका लागि आइरहेका स्वास्थ्यकर्मी माधव प्रसाद थपलियाले जानकारी दिनुभयो । नवलपुरको सर्पदंश केन्द्रले जिल्लाको उत्तरी भेगका ३० भन्दा बढी गाविसहरु र छिमेकी जिल्लाका बिरामीको समेत उपचार गरिरहेको छ । वर्षायाममा पानी परेका बेला विषालु सर्प सुरक्षित ठाउँको खोजीमा जमिन बाहिर निस्कने भएकाले सर्पदंशका घटना बढेको हो ।

सर्पले डस्ने बित्तिकै ल्याइएका बिरामीहरुको सहजै उपचार भैरहेपनि भेन्डिलेटर र आइसियुको अभावमा गम्भिर बिरामीको उपचारमा समस्या भैरहेको केन्द्रका स्वास्थ्यकर्मीहरुले बताएका छन् । सर्लाही लगाएत तराईका जिल्लामा सर्पको टोकाईबाट वर्षेनी धेरैको ज्यान जाने गरेको छ । केहीदिनअघि मात्रै महोत्तरीको बर्दिबासमा एकहप्ताको बीचमा तीनजानको सर्पले टोकेर मृत्यु भएको थियो । अस्पतालमा दक्ष डाक्टर नहुनु, औषधी र गुणस्तरीय उपचार कक्षको अभाव हुनु नै बिरामीको ज्यान जानुको मुख्य कारण रहेको हरिवनका समाजसेवी कमल बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *