‘बन्दाबन्दीमा भएको कमाई सबै सकियो, बाध्यताले बाँचिरहेका छौं’

  • सुजता निङ्लेकु

विराटनगर। ‘निरुता खाजा घर’ विराटनगर-९ भानु टोलमा पर्छ। दुई महिना अघिसम्म हरेक दिन बिहान यहाँ भिडभाड देखिन्थ्यो। स्कूले विद्यार्थी देखि आसपासका मानिस निरुता खाजा घरमा चिया, नास्ता गरिरहेका हुन्थे। तर, हिजोआज यहाँ कोही मानिस पनि देखिन्न।

कारण हो ‘बन्दाबन्दी’। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि देश चैत ११ गतेदेखि ‘बन्दाबन्दी’मा छ। त्यस यता मानिसहरूलाई घरबाहिर निस्कन रोक लगाइएको छ। त्यस कारण ‘निरुता खाजा घर’ पनि बन्दाबन्दीमा बन्द छ।

‘बन्दाबन्दी’ले दैनिकीमा समस्या

‘निरुता खाजा घर’का सञ्चालक हुन् अर्जुन बहादुर राई र निरुता ओली (राई)। सङ्खुवासभाका अर्जुन र दाङकी निरुता श्रीमान्, श्रीमती हुन्। केही समयको प्रेम सम्बन्धपछि उनीहरू २०४७ सालमा विवाह बन्धनमा बाँधिए। उनीहरू शारीरिक रूपमा अपांगता भएका व्यक्ति हुन्।

अर्जुनको दुवै हातका औँला छैनन्। उनी कृत्रिम खुट्टाको सहाराले हिँडडुल गर्छन्। निरुताको पनि एक खुट्टा छैन। उनी वैशाखीको सहायतामा हिँडडुल गर्छन्। उनीहरूकी एक छोरी पनि छन्। घरको आर्थिक अवस्था कमजोर भएपछि आर्जुन २०४६ सालमा सङ्खुवासभाको धुपुबाट विराटनगर झरे।

त्यति बेला अर्जुन अध्ययनलाई अघि बढाउने पक्षमा थिए। तर पढाइमा राम्रो प्रगति नहुने देखेपछि उनी केही काम गर्ने मनोसायमा थिए भने, अर्को तिर आर्थिक अवस्था कमजोर बनिरहेको थियो। उनी कामको खोजीमा थिए। सोही क्रममा अर्जुनले एक होटेलमा काम पाए। त्यहीबाट उनले आफ्नो व्यावसायिक यात्रा सुरु गरे।

केही समयपछि उनले आफ्नो ‘निरुता खाजा घर’ सञ्चालनमा ल्याए। यहीबाट उनीहरूको दैनिकी सहज रूपमा चलिरहेको थियो। तर विगत दुई महिना देखिको बन्दाबन्दीले भने अर्जुनको दम्पतीको दैनिकी कष्ट बनेको छ। अहिले आम्दानी छैन। आफूसँग भएको पैसा सकिन लाग्यो। घर भाडा तिर्ने पैसा छन्। अर्को आम्दानीको स्रोत छैन।

अर्जुन भन्छन्, ‘हामी जस्तो सानो व्यवसाय गर्ने लकडाउनले गर्दा मारमा परेका छौँ। अलिअलि जोहो गरेर राखेको पैसा पनि दुई महिनासम्म बसेर खाँदा सकियो। अहिले रिण मागेर साँझ, बिहानको छाक टारिरहेका छौँ।’

अपांगताको हकहितका लागि विभिन्न संघसंस्थाहरु छन्। तर आजसम्म संस्थाहरूको आँखामा अर्जुनको दम्पती पर्न सकेको छैन। उनी सुनाउँछन्, ‘अपांगता व्यक्तिको हकहितमा काम गर्ने संघसंस्था भए पनि हामीहरूले कहीँबाट कुनै खालको सहयोग पाएका छैनौँ।’

सरकारले बन्दाबन्दीको समस्यामा परेका व्यक्तिहरूलाई राहत वितरण गरिरहेको भए पनि आफूहरूले राहत नपाएको उनको गुनासो छ। एक पटक वडा कार्यालयले ५ किलो चामल दिए पनि खान नसकिने भएकाले अरूलाई नै दिएको उनले सुनाए।

कोरोना भाइरसको महामारी फैलिएपछि खाजा खान आउने ग्राहकहरू आउन छोडेपछि सटर बन्द गरेर बस्नुको विकल्प नभएको उनी सुनाउँछन्। उनी भन्छन्, ‘बन्दाबन्दीको कारण अब व्यवसाय गर्न कठिन छ, सरकारको तर्फबाट जीवनयापन गर्नका लागि सहुलियत दरमा रिणको व्यवस्था गरिदिए हामी सरकारप्रति आभारी हुनेथियौं।’

उनले थपे, ‘कमाई सबै सकियो, बाध्यताले बाँचिरहेका छौ, हामी अपांगलाई विना धितो रिण उपलब्ध गराइदिए व्यवसाय गर्न सहज हुने थियो।’ शारीरिक अशक्त भएका व्यक्तिहरुका लागि आफ्नै पसिनामा रमाएका राई दम्पती एक प्रेरणाका पात्र हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + four =