लकडाउन एक साता थप गर्न कार्यदलको सिफारिस, रायसहित मन्त्रीहरु पुगे बालुवाटार

काठमाडौं । लकडाउन एक साता थप गर्न उच्चस्तरीय समन्वय समितिको कार्यदलले सिफारिस गरेको छ । शनिवार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी कार्यदललाई दिएपछि र्कादलले एक साता थप गर्नुपर्ने राय दिएको हो ।
तर यसबारे निर्णय भने आइतबारको मन्त्रिपरिषदको बैठकले गर्नेछ ।
कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदल गठन गरिएको थियो । उक्त टिम अन्तर्गतको कार्यदललाई लकडाउनको मोडालिटी बनाउने जिम्मा दिइएको थियो।
उच्चस्तरीय समन्वय समितिले लकडाउनकै कारण कोरोना नियन्त्रण हुन थालेको निश्कर्ष निकालेको थियो । बैठकमा केहीजिल्लाको लकडाउन खुकुलो बनाउने समेत निर्णय गरिएका थिए ।
शनिबारै समितिको बैठक सकिएलगत्तै कार्यदलको बैठक बसेको थियो । कार्यदलको बैठकले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने सिफारिस गरेको छ ।
रायसहित उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका मन्त्रीहरु प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न बालुवाटार पुगेका छन् ।








