एटीएमबाट ७० अर्ब, मोबाइल बैंकिङबाट ४८ अर्बको डिजिटल कारोबार

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को ९ महिनामै मोबाइल बैंकिङमार्फत ४८ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तर, गत आर्थिक वर्षको १२ महिनामा मोबाइल बैंकिङमार्फत जम्मा १८ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको थियो ।

कोभिड संक्रमण बढ्दो छ । संक्रमण निण्न्त्रणका लागि राष्ट्र बैंकले डिजिटल कारोबारमा जोड दिएको छ । मानिस आफैं पनि सचेत भएर घरमै बसी मोबाइल बैंकिङबाट कारोबार गर्ने क्रम बढाउने थालेको यो तथ्यांकले पुष्टि गर्दछ । त्यसो हुँदा डिजिटल भुक्तानीको एउटा उपकरण मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उछाल आएको देखिएको हो ।

त्यस्तै, गत आर्थिक वर्षको १२ महिनामा बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट ५४ अर्ब ७६ करोड रुपैयाँको भुक्तानी कारोबार भएको थियो । तर, चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मै ७० अर्ब ६० करोड रुपैयाँको भुक्तानी कारोबार भइसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।

यी दुबै तथ्यांकमा यसमा चालू वर्षको अन्तिम चौमासिक तथ्यांक समावेश हुँदा कारोबारको यो रकम अझ ठूलो हुने निश्चित छ । यसबाट एटीएम र मोबाइल बैंकिङबाट हुने कारोबारमा गत वर्षको भन्दा भारी वृद्धि हुने सहज अनुमान लगाउन सकिन्छ ।

एटीएम र मोबाइल बैंकिङ डिजिटल भुक्तानीका दुई छुट्टाछुट्टै र प्रचलनमा रहेका उपकरण हुन् । यीसहित डिजिटल बैंकिङ कारोबारमा इन्टरनेट बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, आरटीजीएस, ईसीसी, कनेक्ट आईपीएस, क्युआर कोड, वालेट जस्ता उपकरणको प्रयोग उच्च बन्दै गएको तथ्यांकले देखाएको छ ।

बाध्यतासँगै बढ्दो उत्साह डिजिटल कारोबारमा

बैंकमा जानु पर्ने, लाइन लाग्नु पर्ने जस्ता झन्झट नहुने भएपछि मानिसमा डिजिटल काराेबारप्रतिकाे उत्साहत समेत बढ्दै गएकाे छ । हाल काठमाडौं उपत्यकासहित देशका सबैजसो जिल्लामा हाल निशेधाज्ञा घोषणा गगरिएको छ । संक्रमण जति बढ्दो छ भौतिक रुपमा हुने बैकिङ कारोबार पनि उत्तिकै घट्दो छ । निश्चित शाखा मात्रै खोल्ने, निश्चित कर्मचारी मात्रै बस्ने, सकेसम्म डिजिटल कारोबार गर्ने र यसका लागि बैंक तथा वित्तीय संस्थाले सहजीकरण गरिदिनुपर्ने राष्ट्र बैंकको निर्देशनअनुसार नै बैंक तथा वित्तीय संस्था र सेवाग्राहीले डिजिटल कारोबार बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भन्छन्– ‘कोभिड–१९ को दोस्रो लहर निकै खतरनाक देखिएको छ । यस्तो अवस्थामा हुने निषेधाज्ञाको पालना गर्दै हामीले सकेसम्म विद्युतीय कारोबारलाई नै प्राथमिकता दिनुपर्छ । संक्रमणको जोखिमलाई ध्यान दिएर घरैबाट कारोबार गर्न सकिने विद्युतीय माध्यम अनाउन सके सबैका लागि लाभदायक हुनेछ ।’
नेपाल बैंकर्स संघले समेत विज्ञप्ती जारी गर्दै डिजिटल बैंकिङ सेवाको प्रयोग गर्न आग्रह गरिरहेको छ ।

कोभिडअघि व्यक्ति–व्यक्तिबीच भेटेरै हुने नगद कारोबारले स्वास्थ्यमा जोखिम थिएन । त्यसो हुँदा विद्युतीय कारोबारलाई आम मानिसले स्वैच्छिक रुपमा लिएका थिए । कोभिडपछि जोखिमका कारण डिजिटल कारोबार एक हिसाबले अनिवार्य वा बाध्यता नै बनेको छ ।

२०७६ को ११ चैतमा भएको लकडाउनपछि डिजिटल कारोबारमा भारी वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । डिजिटल कारोबारका उपकरणहरु मध्ये पनि पछिल्लो समय एटीएमको तुलनामा मोबाइल बैंकिङ र इन्टरनेटमार्फत हुने कारोबारको वृद्धि बढी भएको देखिन्छ ।

खास गरी एटीएम कार्ड लिएर एटीएम बुथमा जानुपर्ने र एटीएम मेसिनमा कार्ड छिराएर कारोबार गर्दा कोभिड–१९ को संक्रम बढी हुने भएपछि त्यो भन्दा सुरक्षित उपायका रुपमा आफ्नै मोबाइल र कम्प्युटरमार्फत गर्न सकिने कारोबारमा वृद्धि भएको हो । यसरी कोभिड–१९ कहरकै बीच डिजिटल कारोबारले भने प्रमुखता पाउँदै गएको देखिएको छ ।

डिजिटल नेपाल निर्माणमा सहयोगी

भौतिक मुद्रा वा नोटको कारोबारलाई कम गर्दै अभौतिक वा डिजिटल कारोबारलाई बढाउँदै नगदरहित अर्थतन्त्र(क्यासलेस इकोनोमी)को विकास गर्ने लक्ष्य राष्ट्र बैंकले अघि सारेको छ । त्यही लक्ष्य प्राप्तिका लागि राष्ट्र बैंकले नगदरहित कारोबार वा डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । सरकारले कार्यान्वयनमा ल्याउन लागेको ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ लाई सघाउन पनि राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्सहन गर्दै आएको छ ।

पछिल्लो समय नुनदेखि सुन पसलसम्ममा विभिन्न बैंकका क्युआर कोड वितरण गरी क्यासलेस कारोबारलाई राष्ट्र बैंकले प्रोत्साहन गरेको छ । यसले डिजिटल कारोबार निश्चय नै बढाएको छ ।

सबै नेपालीमा मोबाइल फोनको पहुँच पुगेको, ६० प्रतिशतभन्दा बढी नेपालीमा इन्टरनेटको पहुँच पुगेको, फेसबुक प्रयोगकर्ताको संख्या १ करोडभन्दा बढी पुगिसकेको जस्ता सूचकले नेपालमा अब डिजिटल वा विद्युतीय कारोबारलाई व्यापक बनाउन सकिने देखिएको पनि छ ।

प्रतिक्रिया