रातो मत्स्येन्द्रनाथको रथारोहण (तस्बिरहरू)

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथको रथारोहण भएको छ । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज (बुधबार) दिउँसो रथारोहण गरिएको हो । रथारोहण गर्ने साइत बिहानैको भएपनि सो समयमा साङ्केतिक रूपमा मत्स्येन्द्रनाथलाई हल्लाउनेमात्र काम भयो ।

हाल विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारीलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना गरी करुणामयलाई रथमा विराजमान गरिएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

मुलुकमा दिनानुदिन देखिएको कोरोना कहरलाई ध्यानमा राखी आवश्यक मानिसको सहभागितामा मत्स्येन्द्रनाथलाई पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको हो ।

गत वर्ष भने कोरोना महामारीका कारण नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा लोकेश्वरलाई रथारोहण गराइएको थियो । यो वर्ष कोभिड त्रास हुँदाहुँदै पनि सदियौं वर्षअघि देखि चल्दै आएको चलनानुसार आजकै दिनमा रथारोहण गर्न लागिने भएको छ । यही वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराउने काम सम्पन्न भयो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मत्स्येन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ ।

करुणमयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ ८०० सालमा नरेन्द्रदेवको छोरा राजा बरदेवले बनाउने चलन चलाएका पाटन निवासी सूर्यमान डङ्गोलले बताए । उनले भने, ‘मत्यस्येन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का स्वरुपमा पूज्ने गर्छन् ।’

रक्तावलोकितेश्वर मुहार अरुणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी गराए । वृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्कोटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ । -रासस

तस्बिरहरू:

प्रतिक्रिया