हरियो तरकारीको मूल्य घट्यो, किलोमा ५० रुपैयाँसम्म कम

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य घटेको छ । कोभिड–१९ संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा घोषणा गरिएको निषेधाज्ञापछिका १३ दिनमा तरकारीको मूल्य घटेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यलाई तुलना गर्ने हो भने निषेधाज्ञा घोषणा हुनअघि अर्थात् १५ वैशाखको तुलनामा २८ वैशाखमा हरियो तरकारीको मूल्य २ रुपैयाँदेखि ५० रुपैयाँसम्म घटेको छ ।

निशेधाज्ञाअघि प्रतिकिलो औषत ९५ रुपैयाँ पर्ने लोकल परवरको मूल्य ५० रुपैयाँले घटेर अहिले प्रतिकिलो औषत ४५ रुपैयाँमा आइपुगेको छ । त्यस्तै, ७५ रुपैयाँ प्रतिकिलो पर्ने भिण्डी ५५ रुपैयाँमा आइपुगेको छ । ९५ रुपैयाँ पर्ने लोकल सिमी अहिले ४५ रुपैयाँमा पाइन थालेको छ ।

यसरी तरकारीको मूल्य एकाएक सस्तिनुमा मुख्य कारण कोरोना महामारीका कारण गरिएको निषेधाज्ञा देखिए पनि त्यभित्र धेरै कारण रहेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘कोरोनकोे त्रासले धेरै मासिन घरबाहिर निस्किएका छैनन्, लाखौं मानिस काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्,’ उनले भने, ‘हरियो तरकारिका अन्य विकल्पमा तरकारी प्रयोग गरिएको छ । हरियो तरकारीमध्ये पनि नसड्नेलाई एकैपटक भण्डारण गरिएको छ । किसानले पनि भण्डारण गर्न संभव नभएकोले मूल्य घटाएरै बिक्री गर्न चाहेका छन् । यसले पनि मूल्य घटेको छ ।’

कालिमाटी बजारमा अरुबेला दैनिक ८ सय देखि ९ सय टन तरकारी आउने गरेकोमा हाल ३ देखि ४ सय टन मात्रै आउने गरेको उनले बताए ।

उनका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकालाई चाहिने हरियो तरकारी वरिपरिका जिल्लाबाट आपूर्ति हुने गरेको छ ।

‘धादिङ, काभ्रे, मकवानपुर, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, गोरखालगायत जिल्लाबाट आउने तरकारीले नै उपत्यकालाई पुग्ने गरेको थियो,’ उनले भने, ‘अहिले तरकारी उत्पादन भइरहेको तर खपत कम भएको हुँदा त्यसले पनि मूल्य घट्न सहयोग गरेको छ ।’ नेपालमै उत्पादित तरकारीको बजार घटेलेको मूल्य घटेको उनले बताए । आलु, प्याजलगायत केही तरकारी भारतबाट समेत आउने गरेको छ ।

 

प्रतिक्रिया