प्रादेशिक अस्पताल जनकपुरमा बिनाप्रतिस्पर्धा नेता र मेसुका आफन्तलाई नियुक्ति

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा नेताका श्रीमतीदेखि मेडिकल सुपरिटेन्डेन्टका आफन्तलाई नियुक्त गरेको पाइएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइनुभन्दा अघि नै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोदकुमार यादवले आफन्त र नेतापत्नी र नेताकी छाेरीसहित १४ जनालाई बिनाप्रतिस्पर्धा नियुक्ति दिएको पाइएको हो ।

मकालु खबरले प्राप्त गरेको नियुक्तिपत्रमा उनीहरुको तलब भत्ता उल्लेख गरिएको छ । नियुक्ति पाएकामध्ये चारजनाले विगतमा सोही अस्पतालमा करारमा काम गरेको तर बिचमा करार निरन्तर नभएको र नयाँ मेसु आएपछि उनीहरूसहित आफ्ना आफन्त दुईजना, एकजना नेताकी श्रीमती र एकजना नेताकी छाेरीसमेत गरी १४ जनालाई विभिन्न पदमा नियुक्त गरेको प्रमाण मकालु खबरले फेला पारेकाे  छ ।
उनीहरुलाई करारमा राख्ने सम्बन्धि सूचना नै ननिकालि अर्थात बिना प्रतिस्पर्धा नियुक्त गरिएकाे अस्पतालको उच्च स्रोतले  जानकारी दिएको छ । अस्पतालमा मेसु डा यादवले उनका भाइ डा कामेन्द्र यादव (मेडिकल अधिकृत आठौँ, पेडियाट्रिक) र भान्जा सोहनकुमार यादव (एनेस्थेटिक, सहायक पाँचौं) लाई नियुक्ति दिएका छन् ।

यस्तै तत्कालीन समाजवादी नेपाल पार्टीका जिल्ला अध्यक्ष हुँदै प्रदेश सचिव र हाल जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यसमेत रहेका शेषनारायण यादवकी पत्नी प्रेमा ढकाल (स्टाफ नर्स पाँचौं) र जसपा नेता डा. रामस्वार्थ रायकी छोरी डा. सुनिता राय (मेडिकल अधिकृत आठौँ, गाइनाे) लाई नियुक्ति दिइएकाे छ ।

निमित्त मेसु डा यादवले गएको माघ १२ गते रमीनकुमार साह (मेडिकल अधिकृत आठौँ, एनेस्थेसिया), डा अजयकुमार साह, डा सुनिता राय (मेडिकल अधिकृत आठौँ, गाईनो), डा लवकुमार साह (मेडिकल अधिकृत आठौँ, पेडियाट्रिक), डा ज्ञानेन्द्र ठाकुर र दिपेन्द्रकुमार यादव (रेडियोग्राफर, पाँचौं) लाई नियुक्ति दिएका हुन् । त्यसैगरि विभिन्न मितिमा नियुक्तिपत्र दिइएकाे छ ।

 

यसअघि केही वर्ष करारमा काम गरेकाको बिचमा करार नवीकरण भएको थिएन । नयाँ मेसुका रुपमा आएका डा यादवले उनीहरूसहित आफ्ना र नेताका आफन्तलाई बिनाप्रतिस्पर्धा नियुक्त गरेका हुन् ।

नियुक्तिपत्रमा ‘…यसै अस्पतालमा भोलेन्टिर रुपमा कार्यरतलाई करार सेवामा नियुक्त गरेको…’ भन्ने व्यहोरा उल्लेख गरिएपनि उनीहरूमध्ये ११ जना केही समयअघि कार्यरत रही बिचमा निरन्तरता नपाएकाहरू रहेको र तीनजना यसअघि कार्यरत नै नरहेको अस्पतालको उच्च श्रोतले जानकारी दियो ।

२०७७ मंसिर २० मा प्रादेशिक अस्पतालका निमित्त मेसुको जिम्मेवारी पाएका डा.यादवले त्यसको महिना दिन नबित्दै पुस १२ देखि २० सम्म १४ जनालाई बिनाप्रतिस्पर्धा नियुक्ति दिएका हुन् ।

उनीहरुले स्वयमसेवकका रुपमा काम गरिरहेको मेसु यादवको दाबी

मेसु डा यादवले भने १४ जनाले नै स्वयंसेवकका रुपमा कामकाज गर्दै आइरहेको दाबी गरे । नियुक्त गरिएका चिकित्सकलगायत सबैले स्वयंसेवकको रुपमा निःशुल्क कामकाज गरिरहेको उनको दाबी छ । तर नियुक्तिपत्र करारको दिइएको र त्यहाँ तलब उल्लेख गरिएकोबारे राखेको जिज्ञासामा उनले नियुक्ति पत्रमा जे-जस्तो व्यहोरा उल्लेख भएपनि उनीहरुलाई तलब सुविधा नदिएको दाबी गरे ।

उनले भने, ‘म मेसु भएर आएपछि कसैलाई पनि तलब सुविधा भुक्तानी हुनेगरी नियुक्ति दिएको छैन ।’ तर नियुक्तिपत्रमा उनकै हस्ताक्षर र छाप छ ।

 

अस्पताल स्रोतका अनुसार स्वयंसेवकका रुपमा डाक्टर वा कर्मचारी राख्दा नियुक्तिपत्र दिने चलन छैन । उनीहरुलाई मौखिक सहमतिकै आधारमा काममा लगाउने गरिएको छ ।

नियुक्ति पाएका चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूको नियुक्ति पत्रमा चालु आव २०७७/०७८ मा संघीय सरकारबाट सामाजिक विकास मन्त्रालय प्रदेश २ जनकपुरधाममार्फत् यस अस्पतालका लागि विभिन्न वडामा विशेषज्ञ सेवा सञ्चालनका लागि सशर्त अनुदानतर्फ ब.उ.शि.नं. ३५०००१२० अन्तर्गत ब.ख.शि.नं. २२४१३, ब.उ.शि.नं. ३५००८०५० अन्तर्गत ब.ख.शि.नं. २.७.२२.३७९, बउ.शि.नं. ३५०००१२० अन्तर्गत ब.ख.शि.नं. २२५२९ बाट तलब सुविधा उपलब्ध गराउने भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

 

यसबाट प्रादेशिक अस्पतालले संघीय सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत प्रादेशिक अस्पतालमा विशेष सेवा सञ्चालनका लागि करार सेवामा सशर्त अनुदानबाट तलव खुवाउने गरी नियुक्ति दिएको स्पष्ट हुन्छ ।

प्रतिक्रिया