बबल्स सम्झौताअनुसार भारतमा साताको २ उडान‚ संक्रमणको चिन्ता

काठमाडौं । कोभिड महामारीले गर्दा नियमित उडानहरू रोकेपनि सरकारले हाल कोभिडको सबैभन्दा धेरै जोखिम रहेको छिमेकी देश भारतसँग हप्तामा २ वटा उडान कायमै राखेको छ ।

यसले महामारीको त्रास अझ बढ्ने भन्दै चौतर्फी विरोध भइरहेको छ । तर सरकारले भने यो निर्णय बाध्यात्मक भएको जनाएको छ ।

यो उडान नेपाल र भारतबीच भएको ‘एयर बबल्स सम्झौता’अन्तर्गत रहेर गरिएको हो । उक्त सम्झौताअनुसार सातामा दुईवटा उडान सुरु भएको छ । संकटपूर्ण अवस्थामा हवाई उडानलाई उच्च सुरक्षाका साथ जारी राख्नेगरी दुई देशबिचको सम्झौतामा खोलिने हवाई करिडोर उडानलाई ‘एयर बबल्स’ सम्झौता भनिन्छ ।

जुन सम्झौता नेपालले भारतसँग गरेको छ । भारतले पनि अमेरिका, जापानलगायत देशसँग यस्तो सम्झौता गरेको छ । तर, दैनिक ४ देखि ५ लाख कोरोना संक्रमित थपिइरहेको भारतमा उडान कायमै राख्दा नेपालमा संक्रमणको जोखिम अझ बढ्ने नागरिकको चिन्ता छ । सामाजिक सञ्जालमा यसबारे चिन्तामात्र व्यक्त गरिएको छैन‚ सरकारलाई प्रश्न पनि सोधिएको छ ।

नियमति उडान बन्द गरेर ‘एयर बबल्स’ मार्फत् हुने नियन्त्रित उडान जारी राख्नु नेपाल र भारत दुवै देशको बाध्यता भएको नागरिक‚ उड्डयन तथा पर्यटन मन्त्रालयको भनाइ छ ।

‘यो आफ्ना नागरिकप्रतिको दायित्व पनि हो,’ मन्त्रालयका प्रवक्ता सहसचिव अधिकारी भन्छन्, ‘यो इमर्जेन्सी विन्डो हो । नेपालका धेरै नेपाली भारतमा छन् । भारतका धेरै नागरिक नेपालमा छन् । अर्कोतर्फ नेपालका अस्पतालका रिफर सेन्टर वा अस्पतालहरू पनि भारतमै छन् । त्यसैले यी सबै कुरालाई ध्यानमा राखेर सातामा दुईवटा उडान जारी राख्ने गरी सम्झौता गरिएको हो ।’

सम्झौताअनुसारका उडानका लागि दुवै देशका यात्रुले पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने, रिपोर्ट नेगेटिभ भएको ७२ घण्टाभित्र मात्र यात्रा गर्न पाइने, स्वास्थ्य मापण्ड पूर्ण पालना गर्नुपर्ने, यात्रापछि १० दिन क्वारेन्टिनमा बस्नुपर्नेजस्ता सुरक्षाका प्रबन्ध गरिएकाले पनि जोखिम सोचिएको जस्तो नहुने उनको दाबी छ । यसरी हवाई यात्राबाट आउनेलाई राख्न काठमाडौं उपत्यकामा आठवटा होटललाई क्वारेन्टिनमा बस्न व्यवस्थापन गरिएको छ ।

यस्तै, चार्टर्ड उडानबाट आउने यात्रीले पनि स्वास्थ्यका यी सबै मापदण्ड पालना गर्नुपर्नेछ । चार्टर्ड र उद्धार उडानबाट आउने विदेशी नागरिकले फोटो र बारकोडसहितको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया