चार्टर्ड र उद्धार उडानले मौलाउँदै कमाउ धन्दा

काठमाडौं । सरकारले शुक्रबारदेखि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । २१ वैशाखबाट आन्तरिक उडान बन्द गरेकोमा अब बाह्य उडान पनि रोकिएको हो ।

नियमित उडानहरू रोकिएको अवस्थामा सरकारले आपत्कालीन अवस्थाका लागि उद्धार तथा चार्टर्ड उडानको ढोका भने खुला राखेको छ । त्यस्तै, भारतसँग भने ‘एयर बबल्स’ सम्झौताअनुसार सातामा दुईवटा उडान गरिने भएको छ । अरु देशसँगको उडान रोकिएपनि हाल कोभिडको सबैभन्दा धेरै त्रास रहेको छिमेकी देशसँगको उडान भने हप्तामा २ वटा कायमै रहँदा महामारीको त्रास अझ बढ्ने भन्दै यसको चर्को विरोध पनि भइरहेको छ ।

कोभिडको संक्रमणसँगै गम्भीर बिरामी बढेका छन् । बिरामीलाई जतिसक्दो छिटो अस्पताल पुर्‍याउनुपर्ने अवस्था छ । यस्तो अवस्थामा हेलिकोप्टरको चार्टर्ड तथा उद्धारको उडानको संख्या ह्वात्तै बढेको छ । नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार दैनिक १/२ चार्टर्ड उडान गर्ने हेलिकोप्टर कम्पनीले अहिले ७/८ वटा उडान गरिरहेका छन् ।

बिहीबारमात्रै उद्धार र चार्टर्ड गरी २३ वटा उडान भएको प्राधिकरणले जनाएको छ । यस्ता उडानको भाडा पनि प्रतिघण्टा डेढदेखि २ लाख रुपैयाँसम्म असुल्न थालिएको छ ।

गतवर्ष कोरोना महामारीका कारण चैत ११ बाट लकडाउन लगाइएको थियो । चैत १० बाटै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको थियो । पहिले कहिल्यै सामना नगरेको परिस्थितिका कारण धेरै नेपाली विदेशमै अलपत्र परेका थिए । कयौं विदेशी नेपालमै अलपत्र परे । आ-आफ्नो देश र घर फर्किन चाहनेका लागि चार्टर्ड उडान विकल्प बन्यो । तर, त्यही चार्टर्ड उडानलाई नै कमाउने मौकाको रुपमा उपयोग गरियो । यसमा हवाई यातायात व्यवसायी, हवाई यायाताय एजेन्सीदेखि सरकारका उच्च राजनीतिक र प्रशासनिक क्षेत्र पनि जोडियो ।

१ लाख पर्ने टिकटलाई २ लाखदेखि ३ लाखसम्म, ५० हजार पर्ने टिकटलाई डेढलाख रुपैयाँसम्ममा बिक्री गरेर धेरै मालामाल भए । यसकै निरन्तरता यसपटक पनि देखिन थालिसकेको पिडितहरू बताउँछन् ।

नागरिक उड्डयन मन्त्रालयले अनुमति दिने र एजेन्सीहरुले कमिसनको भागबन्डा लगाउँदै कमाउने काम गरे ।

सर्वसाधारणको बाध्यताको फाइदा उठाउँदै नियमितभन्दा बढी चार्टर्ड उडान गरिए । धेरैको खल्ती भरियो । तर, सर्वसाधारण नागरिक ठगिए । यसपटक पनि त्यस्तै अवस्था दोहोरिने हो कि भन्ने चिन्ता बढेको छ ।

‘आपत्कालीन उद्धार उडान, मेडिकल क्षेत्रको आपत्कालीन उडान र सैनिक प्रयोजनको आपत्कालीन उडानबाहेकको चार्टर्ड उडानले यसपटक अनुमति पाउँदैन,’ संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारी भन्छन्, ‘चार्टर्ड उडानको भाडा पनि नियमित उडानकै जति हुनुपर्छ । कसैले बढी भाडा लिए सम्बन्धित निकायले कारवाही गर्नुपर्छ । कतिवटा चार्टर्ड उडान भए, कति भाडा लिइयो र कहाँ भए भन्ने विवरण पाइन्छ । यसकै आधारमा सञ्चार माध्यमलगायत सबैले खोजबिन गर्न सक्नेछन् ।’

यसपटक अचानक थुनिएर आफ्नो देश फर्किन नपाएकाहरुको संख्या गत वर्षको जस्तो नरहेको समेत मन्त्रालयको अनुमान छ ।

बबल्स सम्झौताअनुसार भारतमा साताको २ उडान‚ संक्रमणको चिन्ता
भारतसँग एयर बबल्स सम्झौताअन्तर्गत सातामा दुईवटा उडान सुरु भएको छ । संकटपूर्ण अवस्थामा हवाई उडानलाई उच्च सुरक्षाका साथ जारी राख्नेगरी दुई देशबिचको सम्झौतामा खोलिने हवाई करिडोर उडानलाई ‘एयर बबल्स’ सम्झौता भनिन्छ । जुन सम्झौता नेपालले भारतसँग गरेको छ । भारतले पनि अमेरिका, जापानलगायत देशसँग यस्तो सम्झौता गरेको छ । तर, दैनिक ४ देखि ५ लाख कोरोना संक्रमित थपिइरहेको भारतमा उडान कायमै राख्दा नेपालमा संक्रमणको जोखिम अझ बढ्ने नागरिकको चिन्ता छ । सामाजिक सञ्जालमा यसबारे चिन्तामात्र व्यक्त गरिएको छैन‚ सरकारलाई प्रश्न पनि सोधिएको छ ।

तर, नियमति उडान बन्द गरेर ‘एयर बबल्स’ मार्फत् हुने नियन्त्रित उडान जारी राख्नु नेपाल र भारत दुवै देशको बाध्यता भएको पर्यटन मन्त्रालयको भनाइ छ ।

‘यो आफ्ना नागरिकप्रतिको दायित्व पनि हो,’ मन्त्रालयका प्रवक्ता सहसचिव अधिकारी भन्छन्, ‘यो इमर्जेन्सी विन्डो हो । नेपालका धेरै नेपाली भारतमा छन् । भारतका धेरै नागरिक नेपालमा छन् । अर्कोतर्फ नेपालका अस्पतालका रिफर सेन्टर वा अस्पतालहरू पनि भारतमै छन् । त्यसैले यी सबै कुरालाई ध्यानमा राखेर सातामा दुईवटा उडान जारी राख्ने गरी सम्झौता गरिएको हो ।’

सम्झौताअनुसारका उडानका लागि दुवै देशका यात्रुले पीसीआर नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने, रिपोर्ट नेगेटिभ भएको ७२ घण्टाभित्र मात्र यात्रा गर्न पाइने, स्वास्थ्य मापण्ड पूर्ण पालना गर्नुपर्ने, यात्रापछि १० दिन क्वारेन्टिनमा बस्नुपर्नेजस्ता सुरक्षाका प्रबन्ध गरिएकाले पनि जोखिम सोचिएको जस्तो नहुने उनको दाबी छ । यसरी हवाई यात्राबाट आउनेलाई राख्न काठमाडौं उपत्यकामा आठवटा होटललाई क्वारेन्टिनमा बस्न व्यवस्थापन गरिएको छ ।

यस्तै, चार्टर्ड उडानबाट आउने यात्रीले पनि स्वास्थ्यका यी सबै मापदण्ड पालना गर्नुपर्नेछ । चार्टर्ड र उद्धार उडानबाट आउने विदेशी नागरिकले फोटो र बारकोडसहितको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया