के हो स्वास्थ्य मापदण्ड‚ किन जरुरी छ ?

सन् २०१९ देखि विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ नियन्त्रणका लागि नेपालमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट भएका प्रयत्नहरुबाट कोरोना फैलावट नियन्त्रणमा आएको थियो बाहिरबाट आएका व्यक्तिलाई राख्न होल्डिंग एरिया, क्वारेन्टिनको व्यवस्था, सीमा नाकाहरुमा हेल्प/हेल्थ डेस्क संचालन, शंकास्पद संक्रमित व्यक्तिहरुलाई परीक्षणको व्यवस्था, कोभिड ल्याब संचालन, आइसोलेसन केन्द्र र कोभिड अस्पतालको व्यवस्था गरिएको थियो l

त्यस्तै संक्रमित व्यक्तिको ट्रेसिङ, ट्र्याकिङ र टेस्टिङको व्यवस्था, बिरामी अस्पताल लैजान डेडिकेटेड एम्बुलेन्सको व्यवस्था, कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापन गरिएको थियो l यी सबै समन्वयात्मक प्रयास र परिणामबाट कोभिड-१९ धेरै हदसम्म नियन्त्रणमा आएको थियो l

विद्यमान अवस्थामा कोभिड-१९ को प्रभाव पुन: बढ्न गई दोस्रो लहरको रुपमा अमेरिका, बेलायत र युरोपका देशहरूमा शुरुवाती चरणमा देखिएकोमा हाल भारतलगायत दक्षिण एसियाका देशहरूमा समेत प्रभाव बढ्दै गएको छ l नेपालको छिमेकी मित्रराष्ट्र भारतमा संक्रमणदर दैनिक तिव्ररुपमा बढ्दै गएको छ l

वर्तमान अवस्था
नेपालमा कोभिड-१९ महामारी २०७७ साल असोज र कार्तिक महिनामा उच्च बिन्दूमा देखा परेको र सो पश्चात् संक्रमण र मृत्युदर न्यून हुँदै गएको देखिन्छ l कोभिड-१९ संक्रमणलाई नजरअन्दाज गरी स्वास्थ्य र सुरक्षा मापदण्डको पालनामा लापरवाही गर्दैगएपछि २०७७ चैतदेखि कोभिड-१९ संक्रमणको दोस्रो लहर देखापरेको र संक्रमणदर र मृत्युदरसमेत बढ्दै गएको देखिन्छ l

विश्वभर भइरहेको नयाँ भेरिएन्टसहितको कोभिड-१९ को संक्रमण नेपालमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रणका लागि नेपाल सरकारले सक्रिय संक्रमित संख्याको आधारमा प्रत्येक जिल्लाका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिइएको छ l सोही अधिकारको प्रयोग गरी नेपालका अधिकांस जिल्लामा आंशिक अथवा पुरै निषेधाज्ञा जारी भएको छ l

भारतमा नयाँ भेरियन्टसहितको तेस्रो लहर आउने सम्भावना भएको विज्ञहरूको दावीले नेपाललाई समेत थप चुनौतिको सामना गर्नुपर्ने हुन्छ l पहिलो चरणमा भारतबाट कोभिशिल्ड भ्याक्सिन प्राप्त गरेपछि जोखिमका आधारमा प्राथमिकतामा राखेर खोप वितरण गरिनु सरकारको सही रणनीति थियो l तर मौज्दात नराखेकाले लक्षित समूहलाई दोस्रो डोज दिन विलम्ब भयो l विश्वव्यापी महामारीमा सीमित स्रोतसाधन भएको नेपालजस्तो राष्ट्रका लागि उक्त खोपको आपूर्ति तथा वितरण निकै चुनौतीपूर्ण भएको सिद्ध भइसकेको छ l

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने व्यहोराको अपिल गर्दै आमनागरिक लाई संवेदनशील हुन आग्रह गरिसकेको छ l अत: नयाँ भेरियन्टसहितको कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देहायबमोजिमका स्वास्थ्य मापदण्ड पालना तथा क्रियाकलाप संचालन गर्न अपरिहार्य देखिन्छ l

आम नागरिकले पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डहरू :

  • घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्क लगाउने, प्रयोग गरिएका मास्क बन्द डस्टबिन वा प्लास्टिकको झोलामा बन्द गरी सुरक्षित साथ राखी पाँचदिनपछि मात्र विसर्जन गर्ने l
  • घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेको मास्क जथाभावी नफाल्ने l
  • भीडभाडमा नजाने, भौतिक दूरी ( ३-६ फिट) कायम गर्ने ।
  • बेला बेलामा साबुन पानीले कम्तिमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहल भएको स्यानीटाईजर प्रयोग गर्ने l
  • विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिंगमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए तापनि कम्तिमा दशदिन होम क्वारेन्टाइनमा अन्वार्यरूपमा बस्ने l
  • पीसीआरका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल, भेटघाट र बैठक नगर्ने l

कोरोना भाइरसको संक्रमण भएतापनि संक्रमणको कुनै लक्षण तथा चिन्हरू नभएका र सामान्य लक्षण तथा चिन्ह्हरू भएका संक्रमित व्यक्तिहरुले घरमा आइसोलेसनमा बस्दा पालना गर्नु पर्ने स्वास्थ्य मापदण्ड तथा क्रियाकलपहरु :-

स्वास्थ्य मापदण्डहरु :

  • पर्याप्त प्रकाश आउने र हावा चल्ने छुट्टै कोठामा बस्ने
  • उपचार अवधिभरी बाहिर ननिस्कने र आवश्यक पर्ने समग्रीहरू परिवारका सदस्यमार्फत्
    मगाउने
  • खानपानमा विशेष सावधानी अपनाई पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने
  • आफूले प्रयोग गरेका भाँडाहरू सुरक्षित रुपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुन:प्रयोग गर्ने
  • स्नानघर-शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि सरसफाइमा प्रयोग हुने निःसंक्रमणयन्त्रले राम्रोसँग सफा गरेपछि मात्रै अन्य सदस्यले प्रयोग गर्ने
  • हातधुने बेसिनहरू संक्रमणको स्रोत हुनसक्ने भएकाले दाँत माझ्ने ब्रसलगायतका सामानहरू बेसिनबाहेक छुट्टै स्थानमा राखेर प्रयोग गर्ने
  • ढोका, ढोकाका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरु जुन धेरै व्यक्तिहरुले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरुको डीसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने
  • घरमा हातधुने साबुन र पानीको प्रयाप्त व्यवस्था गरी सबै सदस्यहरुले समय समयमा हात सफा गर्ने
  • भाँडाकुँडा र कपडा धुदा सकेसम्म पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रोसँग घाममा सुकाएर मात्र पुन: प्रयोग गर्ने
  • संक्रमितको हेरचाहको लागि प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमितले अनिवार्य रुपमा मेडिकल मास्क प्रयोग गर्ने
  • घरमा बढी जोखिममा रहने समूहहरु (जस्तै: दिर्घरोगीहरु, ६० वर्ष माथिका जेष्ठ नागरिकहरु, गर्भवती तथा सुत्केरीहरुलाई संक्रमितको सम्पर्कबाट टाढा राख्ने
  • संक्रमितको दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने
  • संक्रमित स्वयमले वा निजको हेरचाहमा संलग्न परिवारको सदस्यले दिनमा कम्तिमा २ पटक संक्रमितको स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एसएमएस वा अन्य भर्चुअल विधीमार्फत जानकारी गराउने

संक्रमितलाई निम्न अवस्थाहरु देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ :-
* छाती दुखे वा भारी महशुस भएमा
* ओठ तथा अनुहार नीलो देखिएमा
* होस हराएमा
* अन्य कुनै जटिल अवस्था देखिएमा
* १००.४ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आएमा
* श्वासप्रश्वासमा कठिनाइ भएमा

क्रियाकलापहरु:

  • स्वस्थकर दैनिकी अवलम्बन गर्ने
  • बिहान सबेरै ब्रह्ममूर्हत (सूर्योदय भन्दा न्युनतम ४५ मिनेट पहिले) मा उठ्ने
  • १ गिलास मनतातो पानी खाने
  • शौचादि नित्य कर्म गर्ने
  • आधा घण्टा योग तथा १५ मिनेट घ्यान गर्ने वा १ घण्टा शारीरिक व्यायाम गर्ने
  • शारीरिक व्यायाम पश्चात १ चिया चम्चा (५ ग्राम) क्वाथ द्रव्य (गुर्जो, यस्टिमधु, अदुवा, मरिच, पिप्ला, दालचिनी, तुलसी पात आदि मिश्रीत जडिबुटी) २०० मिलिलिटर पानीमा पकाएर आधा वाँकी भएपछि (१०० मिलिलिटर) सेलाएर मनतातो भएपछि चिया जस्तै बिस्तारै खाने l यो क्वाथ (चिया) दिनभरिमा (बिहान र साँझ) २ पटकभन्दा बढी सेवन नगर्ने l
  • २० मिनेट बिहानको घाम ताप्ने l
  • १ लिटर पानीमा पुदिना र तुलसीको पात क्रमस: ३ देखी ४ वटा सम्म र ३-५ ग्राम बेसार
    हाली उमालेर त्यसको वाष्प ५ देखी १० मिनेटसम्म दिनको एक वा दुई पटकसम्म लिने l
  • मनतातो पानीमा नुन हालेर दिनको ४-६ पटकसम्म कुल्ला गर्ने l
  • सुख्खा खोकी वा घाटी खसखस भएमा १ ग्राम ल्वांगको धुलो मह वा मिश्रीसंग मिसाएर २
    पटक सेवन गर्ने l
  • शुद्ध तिलको तेल, तोरी वा सरस्यूको तेल वा गाईको घ्यु दुई दुई थोपा दुवै नाकको प्वालमा
    बिहान-बेलुका प्रतिमर्स नस्यको रुपमा हाल्ने l
  • मौसमी फलफूल तथा हरियो सागसब्जी, पोषिलो, ताजा, र मसाला (लसुन, अदुवा, धनिया, जिरा) मिसाएको हल्का सुपाच्य, सात्विक आहार खाने l
  • प्रतिदिन पटक पटक गरी दिनको २-३ लिटर सम्म पानी खाने l
  • दिउसो रचनात्मक क्रियाकलापमा समय व्यतीत गर्ने l
  • सन्ध्याकालमा संगित, नाचगान, भजन वा योग र घ्यान गर्ने l
  • सुत्ने बेलामा तातो दूधमा आधा चिया चम्चा (२-३ग्राम) बेसार हालेर मनतातो भएपछि खाने l
  • राति ८ घण्टा सुत्ने l
  • मध्यपान, धुम्रपान तथा सुर्ती सेवन नगर्ने l

ध्यान दिनुपर्ने कुरा :
• सकारात्मक सोच राख्ने
• विश्वसनीय र थोरै सञ्चारमाध्यम मात्र पढ्ने/हेर्ने/सुन्ने
• स्वास्थ्यकर्मीहरुले दिएको परामर्शको पालना गर्ने
• भ्रम, हल्ला र अवैज्ञानिक कुराको विश्वास नगर्ने
• कोरोना संक्रमणबारे कम कुरा गर्ने, कम सोच्ने तथा अन्य विषयमा मनलाई व्यस्त राख्ने
• कोरोना संक्रमणवाट निको हुने दर (रिकभरी रेट) ज्यादै राम्रो छ l त्यसैले नआत्तिने, किनकि कोभिडको उपचार आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनु र आत्मबल उच्च राख्नु नै हो।

(सगरमाथा अंचल आयुर्वेद औषधालय, उदयपुरमा कार्यरत डा विशाल नेपाल आयुर्वेद चिकित्सक संघका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया