निषेधाज्ञाका बीच रातो मत्स्येन्द्रनाथ रथ निर्माण जारी (तस्बिरहरू)

काठमाडौं । प्रत्येक वर्ष मनाइने वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा निर्माणको काम निषेधाज्ञामा भइरहेको छ । रातो मत्स्येन्द्रनाथको रथको खट निर्माणलगायतका कामहरु भइरहेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरकै अनुमतिमा पुल्चोकको सडकमा रथ निर्माणको काम भएको हो ।

स्वास्थ्य सावधानी अपनाएर रथ निर्माणका लागि अनुमति दिइएको प्रशासनको भनाइ छ । स्थानीयको माग र संस्कृतिसमेत जोडिएको विषय भएकाले रथ निर्माण र परम्परा धान्नका लागि अनुमति दिइएको प्रशासनको भनाइ छ । रथ निर्माणमा लागेका स्थानीय सूर्यमान ढंगोलले १५ दिनभित्र रथ तयार हुने बताए ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मनाइने रातो मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु हुने उनले जानकारी दिए । रथ विभिन्न किसिमका काठ तथा बेतको सहायताले बनाउने गरिन्छ । काठकै चुकुल राखी बेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ ।

पाटनको तःबहालबाट मत्स्येन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित ३२ हात अग्लो रथमा आरोहण गराइने चलन छ । मत्स्येन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ ।

आमाको मुख हेर्ने दिनको भोलिपल्ट रथारोहण गरिएको रातो मत्स्येन्द्रनाथको रथ पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थानमा पुराइने गरिन्छ । किंवदन्तिअनुसार बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए ।

आफ्ना गुरु मत्स्येन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ । यही किंवदन्तीका आधारमा हालसम्म पनि मत्स्येन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ ।

प्रतिक्रिया