गण्डकी प्रदेश : मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा २७ गते मतदान

काठमाडौं । गण्डकी प्रदेश सभा बैठक वैशाख २७ गते बस्ने भएको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठक आगामी २७ गते बस्नेगरी समय तय गरेको हो ।

सभामा टेबुल भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि पनि सोही दिन मतदान हुने भएको छ ।
यसअघि गत वैशाख १५ गते सभाको बैठक बसेको थियो । त्यही सभामै प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेपनि मतदान हुने भने सकेन । त्यहाँका जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ सम्पर्कविहीन भएपछि रोकिएको सभा बैठक पुनः २७ गते बस्ने भएको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावलाई जनमोर्चाले पनि साथ दिने बचन दिँदै आएको छ ।

सभामा सत्तापक्षीय एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपा २, जनमोर्चा ३ र एक जना स्वतन्त्र सिट छ ।

यता स्वतन्त्र सांसद गुरुङले भने एमालेलाई नै समर्थन गर्ने बताइसकेका छन् । उनी गत वैशाख १६ गते नै खेलकुद तथा युवामन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया