कोरोना कहर : यसरी बढाउनुहोस् मनोबल

कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउँदै लगेको छ । मानिसहरूमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपत्तिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो ।

यसलाई असामान्य अवस्थामा मानिसले देखाउने स्वभाविक प्रतिक्रिया भनिन्छ । तर लामो समयसम्मको डर, चिन्ता, भय, तनाव हुनु भने राम्रो होइन । यसले शारीरिक तथा मानसिक रुपमा कमजोर बनाउँदै लैजान्छ । तनावले रोग प्रतिरोधात्मक क्षमतालाई समेत कमजोर बनाउँछ । कोरोनाको संक्रमणलाई जित्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ ।

कोरोनाको संक्रमणसँग लड्न शरीरमा रोग प्रतिरोधात्मक शक्तिको आवश्यकता पर्छ भने मानसिक वा मनोवैज्ञानिक रुपमा आत्मवल वा आत्मशक्ति उच्च हुनुपर्छ । शरीरिक रुपमा स्वस्थ हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खानपान, व्यायाम, पर्याप्त आराम र निद्राजस्ता कुरा आवश्यक पर्छ ।

जसरी व्यक्तिको आ-आफ्नै शारीरिक क्षमता हुन्छ, त्यसैगरी प्रत्येक व्यक्तिको आ-आफ्नै मानसिक क्षमता हुन्छ, जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ । कुनै काममा सफलता पाउन, कुनै घटना वा परिस्थितिको सामना गर्न व्यक्तिमा भएको मनोबलले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । आत्मबल उच्च भएको व्यक्तिमा आत्मविश्वास पनि उच्च नै हुने गर्दछ ।

हामीले सुन्दै आएका छौँ- कोरोना संक्रमणलाई जित्न मनोबल उच्च बनाउनुपर्छ । कोरोनालाई जितेकाहरुको पनि एउटै भनाइ छ- मनोबल उच्च भए कोरोना भाइरसलाई जित्न सकिँदो रहेछ । कोरोनाको भ्याक्सिन भनेकै मनोबल हो । तर आत्मबल वा मनोबल कसरी उच्च बनाउने ?

  • मनोबल बढाउने व्यवहारिक उपायहरू यस्ता छन् :-

सुरक्षाका उपाय अपनाउने
-संक्रमणबाट बच्न कडाइका साथ सुरक्षाका उपायहरू अवलम्बन गर्नुपर्छ ।
-भिडभाडमा नजाने, मास्क लगाउने र बारम्बार साबुन पानीले हात धुने गर्नुपर्छ ।
-यसले संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफू सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

कोरोनासँग लड्न मानसिक रुपमा तयार हुने
य‍ो प्राकृतिक विपत्ति भएकाले हाम्रो हातमा छैन । यो समस्या विश्वकै साँझा समस्या भएकाले यसलाई स्वीकार्नुको विकल्प छैन । कथंकदाचित् संक्रमण भइहाल्यो भने पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनुपर्छ । जस्तो पर्छ, त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ । यसले हामीलाई संक्रमणसँग जुध्न सहज बनाउछ । कोरोनाको डर, चिन्ता, भय कम भएर जान्छ ।

परिस्थितिप्रति सकारात्मक धारणा बनाउने
समय सधैं एकैनाश हुँदैन । अहिलेको समय कठिन भए पनि एक दिन अवश्य त्यो समय टरेर जान्छ । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने सोचेर आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोबल उच्च राख्दा आत्मविश्वास र धीरता दुवै बढेर जान्छ ।

यस्तो बेला आत्तिनु हुन्न भन्ने सोच बनाउनुपर्छ । कोर‍ोना संक्रमण भएपछि मृत्यु नै हुन्छ भन्ने हुँदैन । यो संक्रमणबाट हुने मुत्यदर अत्यन्त न्यून छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुवैलाई आफैँले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

हौसला तथा प्रेरणा
विपत्‌को समयमा हौसला र प्रेरणा अत्यावश्यक हुन्छ । घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्ना मनका भावनाहरू बाँड्ने गर्नुपर्छ । विपत्को बेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडिओ हेर्ने गर्नुपर्छ ।

आफूले आफैँलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै: म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएको छु जस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्मसुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सवल पक्षहरू लेख्ने, मनन वा उजागर गर्नाले पनि आत्मबल बढ्छ ।

मनोसामाजिक सहयोग
विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समयसम्मको मनोवैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले व्यक्तिको आत्मबल र आत्मविश्वासलाई कमजोर बनाउन सक्छ । यस्तो अवस्थामा भौतिक सहयोगमात्र पर्याप्त हुँदैन । मनोवैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिक रुपमा स्वस्थ व्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

तनाव व्यवस्थापन
तनावले शारीरिक तथा मानसिक रुपमा मानिसलाई शिथिल बनाउछ । विपत्तिको समयमा तनाव बढ्ने नै भयो । नियमित रुपमा योग (ध्यान, व्यायाम गर्ने, गहिरो श्वासप्रश्वासको अभ्यासहरू गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, पर्याप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ । जसले तनाव कम गर्न मद्दत पुर्‍याउँछ । ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

आनन्ददायक क्रियाकलाप
कोरोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलापहरूमा धेरैभन्दा धेरै समय बिताउनुपर्छ । जस्तो आफूलाई मनपर्ने किताब पढ्ने, चलचित्र हेर्ने, गीतसंगीत सुन्ने, लेख्ने, आफ्नो आस्था विश्वासअनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता विषयमा सक्रिय हुनाले एक त समयको सदुपयोग हुने भयो अर्कोतर्फ दैनिकीलाई सहज बनाउन सकियो ।

आफूले दैनिक गर्ने कार्यलाई निरन्तरता दिने गर्नुपर्छ । नत्र खाली दिमाग सैतानको घर हुन जान्छ । आफ्ना रुचीकर कुरामा समय बिताउँदा तनाव कम हुने, आनन्दसँग दिन बित्ने हुँदा सकारात्मक सोचको विकास हुनुका साथै आत्मबलसमेत बढ्छ ।

सकारात्मक जीवनशैली
कोरोनाको संक्रमण र निषेधाज्ञाले गर्दा अहिले व्यक्तिको जीवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएको छ । तनावको बेला व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ ।

सकारात्मक जीवनशैली अपनाएको खण्डमा व्यक्ति चाँडै पूर्वअवस्थामा फर्कन सक्छ । आत्मबल पहिला जस्तै उच्च हुन्छ । तर, नकारात्मक जीवनशैलीले भने समस्या जटिल हुँदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छन् । हाम्रो दैनिक जीवनशैली र क्रियाकलापहरु आफू र अरुलाई हानिरहित र सकारात्मक हुनुपर्छ ।

सत्य र तथ्यमा आधारित सूचना र जानकारी
विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छन् । तनावको बेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमी आउँछ । हामी भावनामा बग्न सक्छौं । यस्तो अवस्थामा हामीले तथ्यपरक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ ।
विषयवस्तु र घटनालाई हेर्ने दृष्टिकोण सही बनाउनुपर्छ ।

अहिले अवस्थामा आधिकारिक सूचना तथा समाचारमात्र हेर्ने गर्नुपर्छ । समाचारहरू बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । यस्ता समचारहरू दिनमा एक दूई पटकभन्दा बढि नहेरेकै राम्रो हो । दुःखद् समचारहरू हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ । मन दुखी हुन्छ । तनाव बढ्छ । यसले मानसिक आघात हुन पनि सक्छ ।

सीप, तालिम र शिक्षा
कुनै पनि विषयमा आवश्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अवश्य बढ्छ नै । कोरोना संक्रमणका बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्वहेरचाहका विषयमा जानकारी तथा सरसफाइलगायत अन्य विषयको तालिमले आत्मबल बढाउन मद्दत गर्छ ।

  • मनोविद् ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा संलग्न छन् ।
प्रतिक्रिया