प्रदेश २ को तीन जिल्लामा निषेधाज्ञा

जनकपुरधाम । कोरोना संक्रमणको अवस्था भयावाह बन्दै गएपछि प्रदेश २ को तीन जिल्लामा निषेधाज्ञा लागु गरिएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि प्रदेश २ को धनुषा, महोत्तरी र पर्सामा निषेधाज्ञा जारी गरिएको हो ।

धनुषामा मंगलबार बिहानदेखि लागु हुने गरि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म जनकपुरलगायत धनुषा जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेअनुसार निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए ।

त्यस्तै महामारी रोकथाम तथा नियन्त्रण गर्न महोत्तरीमा बैशाख २२ गते बुधबारदेखि ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले बैशाख २२ गते बिहान ६ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

यसअघि पर्सामा बैशाख १६ गतेदेखि नै एकसाताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिसकिएको छ । बैशाख १६ गते बिहान ४ बजेदेखि बैशाख २२ गते राति १२ बजेसम्म लागु हुने गरि निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जनाए ।

संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम तीनै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

प्रदेश २ मा पर्सापछि धनुषा जिल्ला कोरोना संक्रमण बढीरहेका छन् । सरकारले पहाडका जिल्लामा २ सय र तराई मधेशका जिल्लामा ५ सय संक्रमितको संख्या पुगेको खण्डमा जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा जारी गर्न निर्देशन दिइसकेको छ ।

अत्यावश्यक कामबाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने जनाइएको छ भने निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्सलगायत संचालनमा रहने जनाइएको छ ।

प्रतिक्रिया