पूर्वरानी कोमलको स्वास्थ्य अवस्था जटिल, प्लाज्मा थेरापीले पनि सोचेजस्तो सुधार भएन

काठमाडौं । कोभिड–१९ संक्रमणपछि अस्पताल भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा आशाअनुसार सुधार हुन सकेको छैन ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा शनिबार भर्ना गरिएकी शाहको ‘हाइ फ्लो अक्सिजन सपोर्ट’ र ‘प्लाज्मा थेरापी’बाट उपचार भइरहेपनि आशाअनुसार सुधार हुन नसकेको अस्पतालको उच्च श्रोतले मकालु खबरलाई जानकारी दियो ।

श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजनको उच्च मात्रा (हाइफ्लो) दिएर उपचार भइरहेकोमा बिहीबारबाट प्लाज्मा थेरापी पनि शुरु गरिएको थियो । तर यसको आशा गरेअनुसारको सकारात्मक प्रभाव नदेखिएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

‘सोचेजस्तो सुधार हुन सकेको छैन, अब पनि सुधार नभए भेन्टिलेटरको सपोर्टमा लैजानुपर्ने हुनसक्छ’ श्रोतले भन्यो ।

शाहलाई अहिले प्रति मिनेट १० लिटरभन्दा पनि धेरै अक्सिजन दिइएको छ ।

कोभिड संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई गएको शनिबार अस्पताल भर्ना गरिएको हो ।

प्रतिक्रिया