मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘क्रुर’ र ‘निदर्यी’ बलर अर्थात् माल्कम मार्शल

१८ अप्रिल १९५८ मा बार्बाडोसमा जन्मिएका माल्कम मार्शलका कारण क्रिकेट खेल विश्वमाझ अझ रमाइलो र रोमाञ्चक बन्न पुग्यो । त्यसकारण पनि क्रिकेट जगत १८ अप्रिलको दिनप्रति सधैं आभारी रहनेछ ।

विश्व क्रिकेटमा जब वेस्ट इन्डिजका तीव्र गतिका बलहरू शक्तिमा थिए, त्यसबेला माल्कम मार्शलसँगै एन्डी रोबर्टस्, जोएल गार्नर, माइकल होल्डिङ र कोलिन क्राफ्टको बलिङसँग विश्वभरका ब्याट्सम्यान डराउँथे । ती बलरमध्ये सबैभन्दा फरक थिए मार्शल । उनको बलिङ पनि अरुको भन्दा भिन्न थियो । ब्याट्सम्यानका लागि घातक बलरका रुपमा चिनिएका रोबर्टस्, गार्नर, होल्डिङ र क्राफ्टमध्ये पनि माल्कम सबैभन्दा तीव्र र उत्कृष्ट बलर भनेर चिनिन्थे ।

मार्शलले १९९१ मा जब टेस्ट क्रिकेटबाट अवकाश प्राप्त गरे, त्यो समयमा उनले ८१ खेल खेले र ३७६ विकेट लिँदै इतिहास बनाए । उनको बलिङमा स्ट्राइक रेट ४७ भन्दा कम थियो अनि औसत चाहिँ २० भन्दा केही बढी । यो आँकडाले मार्शल कति खतरनाक बलर थिए भन्ने पुष्टि गर्छ ।

डरको अर्को नाम
वास्तवमा १९८३ देखि १९९१ सम्म विश्व क्रिकेटका सबै ब्याट्सम्यानका लागि मार्शल, डरको अर्को नाम नै थिए । यसको प्रमुख कारण उनको घातक र तीव्र बलिङ थियो । अझ आफ्नो बलिङलाई सहजै नियन्त्रण गर्नसक्नु उनको अर्को क्षमता थियो ।

तीव्र बलिङको हिसाबमा मार्शललाई ‘क्रुर’ अनि बलिङ आचरणको मूल्याङ्कन गर्दा ‘निर्दयी’ बलर भन्दा फरक पर्दैन । मार्सलको १३ वर्षीय अन्तरराष्ट्रिय क्रिकेट जीवनमा उनले करिब ८ वर्षभरि क्रिकेटमात्र खेले । यति छोटो समयमा उनले विश्वभरी प्रशंसक बटुल्न सफल भएका थिए ।

मार्शलसँग लामो समय क्रिकेट खेलेका माइकल होल्डिङ्गले आफ्नो अटोबायोग्राफी ‘नो होल्डिङ्ग ब्याक’मा लेखेका छन्, ‘मेरो अनुभवमा माल्कम मार्शल र एन्डी रोबर्टस् संसारकै तीव्र गती भएका बलर हुन् । रोबर्टस्को तुलनामा माल्कम अझ बढी गती भएका बलर हुन् । हामी उनलाई ‘मको’ भनेर बोलाउथ्यौं । मैले मार्शललाई १९७९–८० मा अष्ट्रेलिया भ्रमणको बेला देखेको थिएँ । उनी ६ फिटभन्दा अग्ला थिए । त्यसैले त्यतिबेला मलाई उनी त्यती तीव्र गतीमा बलिङ गर्न सक्दैनन् होला भन्ने लागेको थियो । तर पछि थाहा भयो उनी अति नै छिटो बलिङ गर्ने रहेछन् ।’

खुट्टामा राख्थे स्ट्रिप्स
मार्शल आफ्नो क्रिकेट अभ्यासमा कति ध्यान दिन्थे भन्नेबारे माइकल होल्डिङ्गले एक रोचक घटना बताएका थिए । त्यही कारणले मार्शलको बलिङ लामो समय टिक्नेभन्दा पनि ब्याट्सम्यानका लागि घातक हुने होल्डिङ्गको अनुमान थियो । होल्डिङ्गका अनुसार, ‘एकपटक म, मार्शल र हाम्रा केही साथीहरु तास खेलिरहेका थियौँ । त्यहीबेला माल्कमको पाइन्ट खुट्टाबाट अलि माथी सर्‍यो । मैले उसको खुट्टामा तौल बढाउने स्ट्रिप्स लगाएको देखेँ । मकोलाई मैले किन यस्तो लगाउनुपर्‍यो भनेर सोध्दा उनले आराम गर्दा, सपिङ् जाँदा, घरमा बस्दा पनि खुट्टालाई आराम नहोस् भनेर स्ट्रिप्स लगाएको बताएका थिए । उनी खेल्ने क्रममा त्यो स्ट्रिप्स खोल्थे । जसले उनको मांसपेशी बलियो भएको हुन्थ्यो र स्ट्रिप्सको बोझ शरीरबाट हट्थ्यो । त्यसैले उनी म्याचको दिन फ्री भएर जतिपनि दौडन सक्थे ।’

होल्डिङ्ग आफ्नो साथीको यस्तो अभ्यास शैली देखेर चकित परेका थिए । यो मार्शलको करिअरको एक उदाहरणमात्र हो । मार्शलको समयमा क्रिकेट जगतमा प्रविधिको प्रयोग अत्यन्तै कम हुन्थ्यो । सबै खेलाडीलाई प्रशिक्षकको व्यवस्था पनि हुँदैनथ्यो । आफैँ अभ्यास गरेर खेलमा कसरी निखारता ल्याउने त्यो मार्शल आफैँले सिकेका थिए । मार्शल रनअपमा जब अम्पायरको नजिक दौडिएर पुग्थे । उनको गति बन्दुकको गोलीजस्तो हुन्थ्यो । जब उनको हातबाट बल छुट्थ्यो त्यो बल गोलीको रफ्तारमा ब्याट्सम्यानसम्म पुग्थ्यो ।क्रिकेटमा सामान्य इन्ट्री
माल्कम मार्शलले पहिलो टेस्टमा कुनै धमाकेदार इन्ट्री भने गरेका होइनन् । सन् १९७८ मा भारतविरुद्धको टेस्ट खेलबाट डेब्यु गरेका उनले आफ्नो प्रभाव छाड्न सकेका थिएनन् । २० वर्षको उमेरमा डेब्यु गरेपछि सन् १९८० मा तेस्रो टेस्ट खेलमा पहिलोपटक क्रिकेटसँग सम्बन्ध राख्ने सबैलाई उनले प्रभाव पारेका थिए ।

इङ्गल्यान्डसँगको त्यो टेस्ट खेलमा उनले ७ विकेट लिए । त्यसपछि मार्शल २ वर्षका लागि टीमबाट बाहिरिए । तर १९८२–८३ मा जब उनी टीममा फर्किए, उनले हरेक टेस्ट खेलमा आफूलाई अब्बल प्रमाणित गर्दै गए । लगातार ७ टेस्ट श्रृंखलामा उनले २१ भन्दा बढी विकेट लिए । आफ्नो पहिलो १४ टेस्ट खेलमा उनले ११ पटक एक इनिङ्मा ५ विकेट लिएका थिए । त्यसपछि मार्शलले कहिल्यै पछाडि फर्केर हेर्नै परेन ।

मार्शल आफ्नो समयमा एकछत्र बलिङमा राज गरेका बलर हुन् । उनी राम्रो पिचमा जति तीव्र र घातक बलिङ गर्थे, त्यति नै खतरनाक बलिङ एसियाको हरेक पिचमा गर्ने गर्थे । उनी स्पिनरलाई मद्दत गर्ने पिचमा पनि तीव्र गतिमा बलिङ गर्थे । आफ्नो सम्पूर्ण बल उनी बलिङमा मात्र खर्चिन्थे । मार्शलका पूर्वकप्तान क्लाइव लोयडले एक अन्तर्वातामा भनेका थिए, ‘१९८४ मा इङ्ग्ल्यान्डसँगको हेडिङ्गले टेस्टभन्दा पहिले लिड्स टेस्टमा मार्शलको हात भाँचिएको थियो । मैले उनलाई सोधेँ- तिमी हेडिङ्ग्ले खेल्छौ ? यो प्रश्नले मार्शल निराश भए ।’

त्यसपछि मार्शलले हेडिङ्गले खेल्नेमात्र होइन, एक हातको भरमा ब्याटिङ गरेर खुसी हुँदै खेल अगाडि बढाए । लोरी गेम्सले आफ्नो अर्को सतक पूरा नगरुन्जेल मार्शल विकेटमा बसिरहे । त्यसपछि बलिङमा उनले इङ्ग्ल्यान्डको पहिलो पाली नष्ट गर्दै ७ विकेट लिएका थिए ।

बाउन्सरद्वारा ब्याट्सम्यानको परीक्षा लिने बलर
चाहे लेग कटर बलिङ होस् वा स्टम्पबाट बाहिर घुम्दै आएको बल, मार्शलको बलिङ झेल्न ब्याट्सम्यानलाई सबैभन्दा तनावको विषय हुन्थ्यो । मार्शलको खास विशेषता के थियो भने, उनी आफ्नो बलिङको पुरै इन्जोय गर्थे । त्यसैले उनी ब्याट्सम्यानको परीक्षा आफ्नो बाउन्सरबाट लिने गर्थे । उनको बाउन्सर यति सटिक हुन्थ्यो की धेरैजस्तो ब्याट्सम्यान उनको बलिङमा घाइते हुन्थे । आफ्नै अगाडि मान्छे घाइते पार्न पाउँदा मार्शललाई भने मज्जा लाग्थ्यो । क्रिकेट मैदानमा जब उनी ‘राउन्ड द विकेट’ बलिङको लागि तयार हुन्थे’ उनको बाउन्सरको सटिकपना झन् बढ्थ्यो ।

माइक गेटिङ्गको नाक नै भाँच्चियो
मार्शलको बाउन्सर बलिङका कारण इङ्ग्ल्यान्डका ब्याट्सम्यान माइक गेटिङ्गको नाक नै भाँच्चिएको थियो । वासीम अक्रमले एक अन्तरवार्तामा भनेका थिए, ‘माल्कम मार्शलले जस्तो नै खतरा ब्याट्सम्यानको कमजोरी पनि २ बलिङमा पत्ता लगाइहाल्थे ।

उनको यही विशेषताले नै उनलाई मार्शल बनायो ।’ मार्शलले ८१ वटा टेस्ट क्रिकेट खेले । त्यसमध्ये ४३ खेलमा उनले आफ्नो टिमलाई जिताएका थिए । जितेका ती ४३ खेलमा उनले २५४ विकेट लिएका थिए ।

बलिङमा एकैजना खेलाडीको यस्तो दबदबा अब क्रिकेट जगतमा शायदै देख्न पाइएला ।

  • बीबीसी हिन्दीबाट
प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com