मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

आमाहरु आइमाई हुन्

ՙआइमाई पनि के मान्छे हुन् र ?  यिनिहरूको बुद्धि नै हुँदैन ।՚ हजुरबाले हजुरआमालाई सबैभन्दा बढी भनेको शब्द यही हुनुपर्छ । हजुरआमा दैनिक घरधन्दा मेलापात, वस्तुभाउ, खेतिपाती सबैतिर पुग्नुहुन्थ्यो । बिहान घाँस काट्न जानुभएको हजुरआमा नफर्किँदासम्म चुलोमा भात पाक्दैनथ्यो ।

हजुरआमाले थकाइ मार्ने समय भनेको भात पकाउँदा र भाडा माँझ्दा मात्र थियो । घरको सबै काम हजुरआमाको भागमा पर्थ्यो । हजुरबा आदेश दिनुहुन्थ्यो, ‘त्यो आदेशपालक हजुरआमाले केही गल्ती गरे हजुरबा तुरुन्तै भन्नुहुन्थ्यो ՙयो आइमाईको भर हुँदैन ।՚

मैले हुर्किँदै गर्दा आइमाईबारे धेरै किस्सा सुनेँ । जस्तै ՙआइमाइको रुद्रघण्टी हुँदैन՚, ՙपँधेर्नी आइमाई՚, ՙआइमाईको जातै नराम्रो՚, ՙथाङ्ने आइमाई՚…

ती किस्सा भन्ने मेरै हजुरबा, गाउँले काका, बडाबा, दाजु पर्ने आफन्तहरू नै थिए । उनीहरुले आफ्नै श्रीमती, बुहारी, छोरी र दिदीबहिनीलाई गाली गर्नुपर्‍यो, होच्याएर बोल्नुपर्‍यो भने ՙआइमाई किस्सा՚ भन्थे । सबैभन्दा बढी त ՙआइमाईको बुद्धि हुँदैन՚ नै भन्ने गरेको सुनेँ ।

खास आइमाई चरण बुझ्ने मौका पनि मैले बच्चा जन्मिएपछि मात्र पाएँ । एसएलसी पास भएर शहरमा पढ्न गएपछि मलाई मीठो लाग्ने खानेकुरा, फलफूल आमाले किन खान सक्नुभएनछ भन्ने पनि बुझेँ ।

अनि अर्को कुरा कुनै कुरालाई हेय भावले तुलना गर्नुपर्दा आइमाई जोडिन्थ्यो । जस्तो : आइमाईजस्तो डरपोक, आइमाईजस्तो पिन्चे… यस्तै यस्तै ।

अझ कहिलेकाहीँ कुरा हुन्थ्यो दुई खुट्टामा सुरुवाल लगाएको होस् भने…, यति पनि गर्न नसक्ने भए के सुरुवाल लगाएर हिँडेको, सारी लगाएर हिँडे भइगो नि !, यस्तै यस्तै ।

मलाईचाहिँ कसैले आइमाई भनिदेला की भनेर डराउथेँ । कसैले आइमाई नभनिदेओस् जस्तो लाग्थ्यो । किशोरावस्थामा आइमाई भनिनबाट जोगिन सकभर केटाहरूले जस्तै खेल्ने र काम गर्ने गर्थेँ ।

तर समय चलिरह्यो । उसले मलाई आफ्नै रफ्तारमा हिँडायो । समय र जीवन बुझायो । मैले आइमाई मान्छे होइनन् भन्ने बुझ्दा मेरो छोरो काखमा खेलिरहेको थियो । अहिले मसँग छोराछोरी छन् ।

कहिलेकाहीँ छोराछोरीले खानेकुरा खाएनन् भने मलाई भोक लाग्दैन, उनीहरू नसुतेसम्म निद्रा लाग्दैन, उनीहरू ममाथि जति उफ्रिए पनि मलाई थकाइ लाग्दैन । दुवैजनालाई काखमा राख्दा र बोकेर हिँडेको बेला पनि गलेको महशुस हुँदैन ।

आफूले भोक लागेको बेला खाएको भन्दा छोराछोरीलाई दूध चुसाउँदा बढी आनन्द महशुस हुन्छ । म आमा बनेपछि मान्छेमा हुने र हुनुपर्ने धेरै गुण मबाट हराए । भोक, निद्रा, थकाइ, इच्छा, चाहना, रहर यस्तै यस्तै । यी सबै कुरा मैले चाहेर होइन, नजानेरै, थाहा नपाएरै हराए । बच्चाको मुख हेरेपछि जुनसुकै दुःख पनि बिर्सिएँ, बिर्सन्थेँ ।

एक्कासी ममा आएको परिवर्तनसँगै आफैँ डराएँ । ՙकतै डिप्रेसन त भएन ?, म किन यति धेरै फेरिएँ ?,  कसरी यस्तो भयो ?՚ मैले दिदीलाई सोधेँ, ՙछोरोसँग बस्दा सबै कुरा बिर्सन्छु । अरूलाई पनि यस्तै हुन्छ ?՚

दिदीसँग पनि मेरैजस्तो अनुभव रहेछ । उहाँले पनि कसैको याद आउँदैन भनेपछि आमाहरूलाई यस्तो हुनु स्वभाविक रहेछ भन्ने महशुस गरेँ ।

अनि आफैँभित्र आएको परिवर्तन प्रत्येक पल महशुस हुन थाल्यो । तर मलाई कसैले पनि त्यसबेला ՙतँ आइमाई होस्՚ भनेन । छोरो निदाएको बेला आफैँमा आएको परिवर्तन सम्झन्थेँ । मैले कहिल्यै कल्पना नै नगरेका कुराहरू आफैँमा विकास भएका थिए ।

त्यसबेला चाहिँ हजुरबाले हजुरआमालाई भनेको ՙआइमाई मान्छे होइनन्՚ शब्द मसम्म आइपुग्यो भन्ने लाग्यो । किनभने म मेरो संसारभन्दा बढी ՙछोरो संसार՚मा रमाएँ । मैले आफूलाई भन्दा बढी महत्व छोरोलाई दिएँ, बढी चिन्ता छोरोको गरेँ भन्ने थाहा पाएँ । मैले गर्न खोजेर होइन, यी सबैकुरा आफैँ स्वतःस्फूर्त रुपमा भए । त्यसपछि मभित्रको आइमाई आफैँले महशुस गरेँ ।

हजुरबा संसारबाट बिदा भएको ५/६ वर्षपछि मात्र बुझेँ ‘साच्चै आइमाई मान्छे होइन रहेछन्’ । किनभने महिलाको गर्भमा बच्चा बसेपछि सुरु हुने आइमाई चरण बच्चा जन्मिएपछि झन् दरिलो बनेर झांगिदो रहेछ ।

मान्छे त स्वार्थी हुन्छ नी ! सबैभन्दा बढी आफ्नै बारेमा सोच्छ, आफ्ना दुःख ठूला भएको महसुस गर्छ, आफूले गरेको काममा सबैभन्दा बढी गर्व गर्छ, आफ्नै आँखामा सपना देख्छ ।

शब्दकोषमा आइमाईको अर्थ आर्यमाता, महिला, स्वास्नीमान्छे भनिएको छ । तर मलाई लाग्छ, आइमाई भनेको महिलामा आउने एउटा अवस्था या चरण हो, जुन सबैले महशुस गर्न सक्दैनन् । जसले महशुस नै गर्न सक्दैनन्, उनीहरुले यसको व्याख्या कसरी गर्न सक्छन् ?

सलोजा दाहाल

आमाले आफ्नो होइन छोराछोरीको आखाँमा सपना देख्छिन्, उसको खुसीमा रमाउन सक्छिन् । छोरो हुर्किँदै गर्दा ऊ हाँसेको, बसेको, बामे सर्न थालेको, उभिएको, हिँड्न थालेको जस्ता कुराले पनि असाध्यै खुसी महशुस हुन्थ्यो । छोरोले गरेका हरेक काममा यत्तिकै खुसी भरिएर आउँथ्यो । उसका हरेक क्रियाकलापमा यति धेरै रमाएँ । आफैँमा आएको परिवर्तन सम्झिएर लाग्थ्यो ՙअब म मान्छे रहिनँ ।՚

यसरी अरुको खुसीमा रमाउने व्यक्ति कसरी मान्छे भयो ?  त्यही भएर हुनुपर्छ हाम्रो समाजमा महिलालाई आइमाई, मान्छे होइनन् भनेको । मेरी आमा, काकी, ठूली आमा, भाउजुदेखि अहिले हामीसँगै पढ्ने र काम गर्ने साथीहरू पनि मलाई कतिपय ठाउँमा ՙमान्छे होइनन्՚ भन्ने लाग्छ ।

हामी कहिलेकाहीँ हुने जमघटमा आफ्नाभन्दा बढी कुरा छोराछोरोका गरिरहेका हुन्छौं । अब आफ्नामात्र कुरा गर्ने है भनेर भनेपनि कहाँबाट मोडिन्छौँ र छोराछोरीमा पुगिसकेका हुन्छौँ । हामी आमाहरू ՙबिर्सिएर՚ पनि छोराछोरीकै विषयमा रुमल्लिरहेका हुन्छौँ । बाटोमा हिँड्दा, खाजा खान बस्दा, कार्यालय निस्कँदै गर्दा पनि आखाँभरि छोराछोरीको तस्वीर र मनभरि उनीहरुकै याद हुन्छ । यसरी सबै ठाउँमा ՙअरुको चिन्तामात्र गर्ने र अरुकै खुसीमा रमाउने हामी कसरी मान्छे हुन सक्छौँ ?՚

अहिले मेरो सामुन्नेमा हजुरबा हुनुहुन्थ्यो भने म उहाँसँग सगर्व भन्थेँ, ՙहजुरबा ! तपाईंकी नातीनी पनि आइमाई भई ।՚ उहाँलाई आइमाई हुनुको सही अर्थ बुझाउथेँ । ՙआइमाई मान्छेमात्र हुन्थे भने बच्चा जन्माउँदा हुने पीडा, बच्चा हुर्काउँदा हुने दुःख र परिवारमा हुने झमेला कसरी सहन गर्न सक्थे ?, प्रसव पीडापछि बच्चाको अनुहार हेर्नासाथ स्वर्गीय आनन्द प्राप्त हुन्छ भनेर कसरी आफैँ भन्न सक्थे ? यो काम सामान्य मान्छेले सजिलै सहन गर्न सक्दैनन्, हजुरबा । त्यसैले आइमाई तपाईंले भनेझैं मान्छे होइनन्, महामान्छेको अवस्थाका महिला हुन् ।՚

तर मेरो हजुरबाले आइमाइको सही अर्थ बुझ्नुभएन । त्यसैले त हजुरआमालाई गाली गर्दा मात्र ՙआइमाई՚ भन्नुहुन्थ्यो ।

आइमाई भनेको महिलाको जीवनमा आउने एउटा चरण हो- आमा चरण । जुन विशिष्ट प्रकारको हुन्छ । महिलामा अएको यही चरणकै कारण अहिले पनि विश्वमा मानव सभ्यता टिकेको छ । आमाले आफ्नोभन्दा बच्चाको बढी ख्याल गर्ने भएकैले त एउटा अबोध बालक योग्य र सुसंस्कृत मान्छे बन्न सक्छ । यस्तो विशिष्ट र उत्कृष्ट चरण पुरुषको जीवनमा कहिल्यै आउँदैन । उनीहरूले चाहेर या नचाहेर होइन । प्राकृतिक रुपमा नै पुरुषमा ‘आमा चरण’ कहिले आउँदैन । कतिपय बुबाहरूले छोराछोरीको हेरचाह, स्याहार-सुसार गरेका हुन्छन् तर आमाले जसरी भोक निद्रा नै बिर्सन सक्दैनन् अर्थात् आइमाई चरणमा हुने विशेषता उनीहरुमा विकास हुन सक्दैन । त्यसैले स्त्री लिङ्गको पुलिङ्ग, केटाको केटी, महिलाको पुरुष, स्वास्नी मान्छेको लोग्ने मान्छे भनेजस्तै आइमाइको पुलिङ्गी शब्द हुँदैन/छैन ।

आइमाई चरणमा भोक, तिर्खा, निद्रा, थकान, सपना, चाहना केही पनि हुँदैनन् । बच्चाको अनुहार हेरेपछि आमाहरूले यी सबै कुरा बिर्सन्छन् । बच्चाले खाएमात्र आमालाई भोक लाग्छ । बच्चा निदाएको बेला आमालाई निन्द्रा लाग्छ, थकाइ लाग्छ ।

खास ‘आइमाई’ चरण बुझ्ने मौका पनि मैले बच्चा जन्मिएपछि मात्र पाएँ । एसएलसी पास भएर शहरमा पढ्न गएपछि मलाई मीठो लाग्ने खानेकुरा, फलफूल आमाले किन खान सक्नुभएनछ भन्ने पनि बुझेँ ।

मेरो आमाको भागमा आइमाई शब्द आक्कल झुक्कलमात्र पर्थ्यो । तर म निदाउँदा पनि आमाले काम गरिरहनुहुन्थ्यो, ब्युँझदा पनि आमा काममै हुनुहुन्थ्यो । कुनै दिन खाना अरुले नै खाइसके पनि आमाले फेरि पकाएर खान खोजेको कहिल्यै देखिनँ । बरु सन्तान वा पाहुनाले खाएकैमा सन्तुष्ट भएको वा आमा आफैँ पनि अघाएको पाएँ । उहाँले कहिल्यै ‘थकाइ लाग्यो, भोक लाग्यो’ भनेको सुनिँदैनथ्यो । आमाले सकिनँ भनेको त बिरलै मात्र सुन्थेँ ।

बरु बिरामी भएर सुतेपछि आमाको जिउ थरथर कामेको देखेकी छु । आमा धेरै दिनसम्म बिरामले थलिएर सुतेको देखेकी छु । त्यसबेला पनि आमाले आफ्नोभन्दा हाम्रो चिन्ता बढी गर्नुहुन्थ्यो । खाना बनाएर किन नखाएको भन्दै गाली गर्नुहुन्थ्यो । तर मलाई कहिले पनि ‘खाना किन दिएनौ?’ भन्नुभएन । बरु छोराछोरीले पकाएर खाएनन् भन्दै छिमेकी गुहार्नुहुन्थ्यो, आमा त्यसरी बिरामी भएर सुत्दासमेत हामीले खाएपछि मात्र खानुहुन्थ्यो ।

कोही महिलामा आइमाई शक्ति निरन्तर रहन्छ त कसैको निश्चित समयपछि हटेर जान्छ । जे होस्, म आफ्नै अवस्था, सोचाइ, भोगाइमा आएको परिवर्तन हेरेर सगर्व भन्न सक्छु । अहिलेकी म आइमाई हो, आमाहरू आइमाई हुन् ।

आमा आफूले पढ्न नपाएको रहर हामीबाट पूरा गर्न चाहनुहुन्थ्यो । हामीले जानेका नयाँ कुरा सुनाउँदा आमाको अनुहारमा धेरैपटक चन्द्रमा देखेकी छु । कान्छी बहिनीले स्नातकोत्तर सकेको दिन आमाले सबै छोराछोरीले डिग्री सके भनेर आँसु पुछेको देखेकी छु । दिदीले कविता प्रतियोगितामा प्रथम भएर पुरस्कार पाएको दिन आमाले लामो सास फेर्दै भन्नुभएको थियो, ՙमेरो समय थिएन, अब यसले गर्छे ।՚ आमाले देखेको सपना साँच्चै विपना बने ।

दूध चुसाइरहेका महिलामात्र होइन, हाम्रो समाजका धेरै आमाहरू अझै पनि लामो समयसम्म आइमाई जिन्दगी बाँचिरहेका छन् । भलै उनीहरू कामकाजी हुन् वा गृहिणी ।

हुन त दूध चुसाइरहेकी महिला नै आइमाई चरण हो भनेर अहिलेसम्म मैले हेरेका र पढेका कुनै पनि शब्दकोशमा लेखिएको छैन । बृहत् नेपाली शब्दकोषमा आइमाईको अर्थ  आर्यमाता, महिला, स्वास्नीमान्छे भनिएको छ । तर मलाई लाग्छ, आइमाई भनेको महिलामा आउने एउटा अवस्था या चरण हो, जुन सबैले महशुस गर्न सक्दैनन् । जसले महशुस नै गर्न सक्दैनन्, उनीहरुले यसको व्याख्या कसरी गर्न सक्छन् ?

जो महिला आमा चरणमा प्रवेश गर्छन्, उनीहरू जानअन्जानमै आइमाई बन्छन् । जसको उदाहरण हामीले हाम्रै समाजमा प्रशस्त देखेका छौं । विवाहअघि वा गर्भवती हुनुअघि असाध्यै क्रियाशील रहेका कतिपय महिलाले छोराछोरी हुर्काउन आफ्नो पेशा, व्यवसाय, जागिर, पढाइ छाडेका हुन्छन् । यी सबै कुरालाई निरन्तरता दिएकाले पनि पहिलो प्राथमिकता बच्चालाई दिएका हुन्छन् । उनीहरूमा काम, व्यवसाय र पढाइप्रति भन्दा बच्चाप्रतिको लगाव बढी देखिन्छ । मलाई लाग्छ- प्रकृतिले नै उनीहरुलाई आमाशक्ति बढी दिएको हुन्छ । त्यसैले त छोराछोरीका लागि यति गरियो, त्यति गरियो भनेर गुनासो गरेको विरलै सुन्न पाइन्छ ।

हुन त अहिले सरकारी, गैरसरकारी संस्थादेखि कतिपय सार्वजनिक पदमा बसेका महिलाहरुले नै ՙआइमाई՚ शब्द राम्रो होइन र महिलालाई आइमाई भन्न पाइँदैन भन्ने अभियान नै चलाएका छन् । कसैले आइमाई भने तुरुन्तै विरोध गर्छन् ।

तर मलाई लाग्छ- समाजमा लामो समयदेखि आइमाई शब्दको गलत प्रयोग भयो ।

मेरो हजुरबाले जस्तै धेरैले आइमाईलाई गलत अर्थ लगाए । सबै महिलालाई आइमाई भन्नु हुँदैन भन्ने अभियान्ताले सबै महिला आइमाई होइनन् तर आइमाई महिलाको जीवनमा आउने एउटा विशिष्ट अवस्था हो भन्ने बुझेनन् । यो शब्दको सही प्रयोग गरौँ भन्ने कुरा बुझाउन सक्नुपर्थ्यो । त्यसैले आइमाई शब्द हटाउन होइन, त्यसको सही अर्थ र सान्दर्भिकता बुझाउन लाग्नुपर्थ्यो ।

अनि हामी (महिला) आफ्नै जिवनमा आउने, आफैँले महशुस गरिरहेको आइमाई अवस्थाबारे बेखबरजस्तै बनेर आइमाई उच्चारण गर्नु गलत हो भन्दै हुइयाँ मच्चाउन उद्दत छौँ ।

आजभोलि मैले महशुस गरेको मभित्रको ՙआइमाई՚ अरुले सोचेको भन्दा निक्कै फराकिलो लाग्छ । मेरी आमा, हजुरआमा, ठूलीआमा, काकी, दिदी बहिनीसँगै आमा बनेका र बन्न लागेका साथीहरूभित्र पनि आइमाईपन देख्छु । जसले आफूले पूरा गर्न नसकेको सपना हुर्किँदै गरेका छोराछोरीको आखाँमा हेर्न खोज्छन् ।

आफ्नोभन्दा आफ्ना बच्चाको बढी चासो गरेको देखेपछि लाग्छ- कहिँकतै लिखित रुपमा नभएपनि, भाषाविद्ले व्याख्या गर्न नसकेको आइमाईपन हामीमा छ । प्रकृतिले आदिम कालदेखि हामीलाई निरन्तर आइमाई शक्ति दिएको छ ।

कोही महिलामा आइमाई शक्ति निरन्तर रहन्छ त कसैको निश्चित समयपछि हटेर जान्छ । जे होस्, म आफ्नै अवस्था, सोचाइ,  भोगाइमा आएको परिवर्तन हेरेर सगर्व भन्न सक्छु । अहिलेकी म आइमाई हो, आमाहरू आइमाई हुन् ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com