सांसद खिमविक्रम आइसीयूमा भेटिए, सत्ता संरक्षित गुण्डागर्दी गरेको कांग्रेसको आरोप

काठमाडौं । बुधवारको प्रदेश सभा बैठकमा अनुपस्थित रहेका गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाही कोभिड उन्नाइस वार्डको आइसीयूमा भेटिएका छन् । यद्यपि उनको रिपोर्ट भने नेगेटिभ आएको छ ।

जनमोर्चा गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका शाही पोखरास्थित चरक अस्पतालको कोभिड उन्नाइस वार्डको आइसीयूमा भेटिएका हुन् । अस्पतालका निर्देशक कपिल पोखरेलकाअनुसार सांसद शाही बुधवार बिहान भर्ना भएका थिए । सांसद शाहीको प्रदेश सचिवालयले गरेको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो । निर्देशक पोखरेलेकाअनुसार सांसद शाहीलाई अस्पतालको रिपोर्टमा पोजेटिभ देखाएपछि आइसीयूमा भर्ना गरिएको हो । ‘हामीसँग कोरोनाका ४२ बिरामी छन्,’ पोखरेलले भने– ‘जसमध्ये उहाँ पनि एक हुनुहुन्छ ।’

प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल भइसकेको छ । जसमा आजै मतदान हुने कार्यसूची थियो । तर, आफ्नो नेता नआएको भन्दै जनमोर्चा गण्डकी प्रदेशकी सचेतक पियारी थापाले प्रदेश सभा बैठकको कारबाही रोक्न माग गरेपछि सभामुख नेत्रनाथ अधिकारीले सदन अनिश्चितकालका लागि स्थगन गरेका छन् ।

सांसद शाही आइसीयूमा भेटिएको समाचार बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन् गर्दै प्रवक्ता शर्माले सांसद शाहीको नेगेटिभ रिपोर्ट राखेका छन् । ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ?,’ प्रवक्ता शर्माले ट्वीटर ह्याण्डलमा भनेका छन्– ‘उपचारका नाममा बन्दी ?’

यस्तै यता जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद अपहरण गरेर कसैले सत्ता जोगाउँदा संविधानले हार्ने टिप्पणी गरेका छन् ।

सांसद शाही आइसीयूमा राखिएको समाचार बाहिरिएपछि ट्वीटमार्फत् भट्टराईले भनेका छन्– ‘सांसद किनबेच, अपहरण, निष्कासन, अस्पताल भर्ना र संसद् विघटन/स्थगन/अवरोधजस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला । तर, अन्ततः लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ । अनि राष्ट्रियता स्वाधीनता सार्वभौमसत्ताले हार्नेछ । बेलैमा चेतौं, राष्ट्रिय सहमति/एकता कायम गरौं । भोलि धेरै ढिलो हुनेछ ।’

प्रतिक्रिया