‘टक शो’को तयारीमा पहिलो भारतीय ‘ट्रान्स मोडल’ निक्की

एजेन्सी । पहिलो भारतीय ट्रान्समोडल तथा कलाकार निक्की चावला आफ्नै टक शो चलाउने योजनामा छिन् । पन्जाबकी निक्कीले पुरुषको रूपमा जन्म लिएकी थिइन् । तर सानै उमेरबाट उनलाई महिलाको झैँ महसुस हुन थालेको उनी बताउँछिन् । अन्तरराष्ट्रिय र्याम्प शोदेखि विभिन्न रियालिटी शोको हिस्सा बनिसकेकी निक्कीले केही वर्षअघि शल्यक्रिया गरेर महिलाको रूप प्राप्त गरेकी हुन् । उनको पुरुषबाट महिला बन्ने प्रक्रिया सहज भने नरहेको उनी बताउँछिन् ।
सन् २००४ मा निक्कीले आफ्नी आमालाई शल्यक्रियाको विषयमा बताएकी थिइन् । तर सोचे झैँ भएन । उनी गलत डाक्टरकोमा पुगिछन् । डाक्टरले त ४ महिना समय लिएर महिलाका गुणहरू मेटाइदिने भनेर उनकी आमालाई भरोसा दिलाए । आमाले सम्झाएपछि निक्की पनि तयार भइन् ।
उनले निक्कीलाई लगातार ४ महिनासम्म पुरुष हार्मोनको खोप लगाइदिए । तर त्यसले निक्कीको गुणमा परिवर्तन भएन ।
परिवर्तन भयो त केवल शरीरका रौँमात्रै । उनको शरीरभर रौँ नै रौँ आउन थाल्यो । उनलाई आवाजसमेत परिवर्तन हुन्छ भन्ने ठूलो डर थियो । त्योसँगै उपचारभन्दा पनि शल्यक्रिया नै अन्तिम उपाय भएको सोचेर उनी महिला बने ।
निक्कीले तेश्रोलिंगी भएकै कारण एकता कपूरको वेब सिरिज ‘मेड इन हेभन २’ मा काम पाएनन् । उनलाई कास्टिङ डिरेक्टरले कल गरेर आफ्नो प्रोफाइल पठाउन भनेका थिए । तर अन्त्यमा उनको लैङ्गिकताकै कारण छनौटमा नपरेको भन्ने निक्कीलाई लाग्छ । उनी अहिले भने यस्ता ‘रिजेक्सन’ ले दुःखी नबनाउने बताउँछिन् ।
विगत १० वर्षयता कला जगतसँग निकट निक्की आफ्नै समुदायका लागि केही गर्न चाहन्छिन् । अहिलेसम्म छिटपुट काम गरे पनि उनी अब केही बृहत्स्तरमै काम गर्न चाहन्छिन् । जिम्मेवारीबोधकै कारण उनी अन्य पीडित महिलाको विषयमा समेत आवाज बन्न चाहन्छिन् ।
सही मार्गनिर्देशनको अभावमा धेरै यो समुदायका बालबालिका गलत बाटोमा जाने सम्भाव्यतालाई ध्यान दिँदै उनीहरूको लागि काम गर्ने निक्कीको आगामी योजना छ । सेक्स वर्कर बनेर सजिलो तरिकाले पैसा कमाउनेभन्दा पनि सही बाटो लगाउने उनको तयारी छ । यसैको लागि निक्की छिटै नै एक शो लिएर आउने तयारीमा छिन् ।








