इटहरीमा ५० बेडको आइसोलेसन संचालनको तयारी, शव व्यवस्थापनको ठाउँ तय

विराटनगर । इटहरी उपमहानगरपालिकाले कोरोनाको संक्रमण बढ्दै जाँदा ५० बेडको आइसोलेसन सेन्टर शुरु गर्ने भएको छ । इटहरी उपमहानगर कार्यपालिकाको बैठकले इटहरी रंगशालामा ५० शय्याको आइसोलेसन संचालन गर्ने निर्णय गरेको हो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि तत्काल आइसोलेसन आवश्यक पर्ने भएपछि निर्णय गरेर कार्यान्वयन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए । कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि पहिलो चरणमा आइसोलेशन सेन्टर निर्माणको तयारी गरिएको सिग्देलले बताए ।

त्यस्तै शव व्यवस्थापनका लागि शव गाड्ने संस्कार भएकाहरुका लागि इटहरी- २ स्थित जंगलमा र जलाउने संस्कार भएकाहरुका लागि इटहरी- ११ स्थित बुढिखोलाको भागलपूर पुल उत्तरमा शव व्यवस्थापनका लागि ठाउँ मिलाइएको समेत उनले जानकारी दिए ।

उपमहानगरपालिकाले २५ जनासम्म मात्र सहभागी भएर स्वास्थ्यका सबै मापदण्डहरू पूरा गरेर मात्र अन्तिम संस्कार गर्न दिनेसमेत निर्णय गरेको छ ।

कर्मचारीमा संक्रमण
इटहरी उपमहानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । राजस्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ ।

शाखा प्रमुख नविन भट्टराईका अनुसार वैशाख १५ गते देखि पाँच दिनसम्म राजस्व प्रशासन शाखाबाट हुने सबै सेवा बन्द गरिएको हो । वडा कार्यालयहरूबाट हुने कर संकलन कार्य भने नियमित हुने बताइएको छ ।

प्रतिक्रिया