भारतको दर्दनाक दृश्य: अस्पतालदेखि श्मशान घाटसम्म लाइन नै लाइन !

काठमाडौँ । भारतमा कोभिड-१९ संक्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँ कोभिड-१९ का कारण मृत्यु हुने मानिसको अहिलेसम्म २ लाख नाघेको छ । अधिकारीहरुका अनुसार मंगलबार मात्रै भारतमा ३ हजार २ सय ८६ जनाले ज्यान गुमाएका छन् । यो महामारी शुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च संख्या हो ।

भारतमा अस्पतालमा भएका मृत्युहरूलाई मात्र गणना गरिएको छ । सङ्क्रमणमा देखिएको पछिल्लो वृद्धिले भारतको स्वास्थ्य प्रणालीलाई घुँडा टेकाइदिएको छ । गत एक साताभित्र मात्र २० लाख कोरोनाभाइरस सङ्क्रमित थपिएको तथ्याङ्क छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २३ हजार १४४ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको तथ्यांक छ ।मृतकको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ । यद्यपि ती मुलुकहरूमा भारतमा जस्तो अहिले देखिएको सङ्कट चाहिँ नरहेको बताइएको छ । थुप्रै देश तथा विश्व स्वास्थ्य सङ्गठनले भारतमा खासगरी अक्सिजनको सहायता पठाउँदैछन् ।

अस्पतालमा शय्या तथा अक्सिजन नपाएर कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ भने बिरामीहरूको चाप थेग्न अस्पतालहरूलाई हम्मेहम्मे भएको छ । मसानघाटमा शव जलाउन ठाउँको अभाव हुँदा दिल्लीमा अस्थायी खालको संरचना बनाइँदैछ ।

अस्पतालदेखि चितासम्म लाइन नै लाइन
कोरोनाको दोस्रो लहरले भारतको हालत गम्भीर बनाइदिएको छ र, डर-डरबीच लाइनमा उभिएको छ भारत । रुघा, ज्वरो र घाँटी दुख्यो भने परीक्षणको लाइन । रिपोर्ट पोजिटिभ आएदेखि अक्सिजन/भेन्टिलेटर र ज्यान नै बचेन भने- अन्तिम संस्कारका लागि ‘श्मशान घाट’मा पनि लाइन ।

यि दृश्यले पुष्टि गर्छन्- भारतको अवस्था कति भयानक र दर्दनाक छ भन्‍ने कुरा । ‘श्मशान घाट’मा एकसाथ कयौँ चिता जलिरहेका छन् । शव जलाउनका लागि दाउरासमेत अभाव छ । दाउरा पूर्ति गर्न पार्कका रूखहरू काट्न थालिएकाे छ ।

मृत्यु हुने मानिसहरूको सङ्ख्या बढ्ने क्रम जारी रहँदा शव जलाउनका लागि दाउरा जम्मा पार्न तथा अन्तिमसंस्कारका कतिपय पाटोमा सघाउनका लागि मृतकका आफन्तहरूलाई आग्रह गर्न थालिएको छ । -एजेन्सीको सहयोगमा

प्रतिक्रिया