आइएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

कामाण्डौं । डीम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्‍याउनका लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार डीम्याट खाता र मेरो सेयरको नवीकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्टमार्फत् सजिलैसँग भुक्तानी गर्न सक्ने जनाइएको छ ।

उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई पे, एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भएपश्चात् सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको  बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको विचार व्यक्त गरे ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफरअन्तर्गत १ सयमा १ सय रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको जनाएको छ ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन रहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको जनाएको छ ।

यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्ने बताएको छ ।

यसले व्यक्ति-व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआरमार्फत् भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया