सत्तापक्षीय एमालेद्वारा गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध

काठमाडौं । सत्तारुढ एमालेले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । सोमवारदेखि शुरु भएको सभाको विशेष अधिवेशनअन्तर्गतको मंगलबारको बैठकमा एमाले सांसदहरुले कोरोना पीसीआर नगरी उठेर विरोध जनाएका हुन् । एमाले सांसद राजीव पहारीले पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञा जारी गरेको खबत बैठक आह्वान भएको भन्दै विरोध गरे ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध गत वैशाख २ गते अविश्वास प्रस्ताव दर्ता भएको छ । जसमा सोमवारै प्रस्ताव सभामा टेबुल भइसकेको छ । सभामुखले कुरा राख्न भनेपछि सांसद पहारीले कोरोना संकटमा पीसीआर परीक्षण नगरी बैठक बस्न नहुने बताएका थिए । ‘कोरोनाकाल चलिरहेको छ, पीसीआर परीक्षणबिना बैठक बस्नु जोखिमयुक्त हुन्छ,’ सांसद पहारीको भनाइ थियो । सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरे पनि सांसद पहारी बस्न मानेनन् । त्यसपछि अन्य एमाले सांसदसमेत उठेपछि सभामुख अधिकारीले १८ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा २८ जना सांसदले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावको सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले वैशाख १ गते नै संसद्को अधिवेशन अन्त्य गरेका थिए । तत्पश्चात् नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले संसद्को अधिवेशन आह्वानको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन पेश गरेका थिए । त्यसपछि प्रमुख शेरचनले वैशाख १३ गतेबाट बैठक बोलाएका हन् । गण्डकी प्रदेश सभामा कांग्रेस, माओवादी र जसपाका गरी २८, जनमोर्चाका ३ जना गरी ३१ जना विपक्षीसँग छन् भने सत्तापक्षीय एमालेसँग २७ सांसद छन् ।

प्रदेश सभामा स्वतन्त्र सांसद दीपक मनाङ्गेले भने जनमोर्चाको मोर्चामा उभिने बताउँदै आएका छन् भने जनमोर्चाले प्रस्तावको पक्षमै मतदान गर्ने बताइसकेको छ । यद्यपि प्रस्तावमा भने उसले हस्ताक्षर गरेको छैन ।

प्रतिक्रिया