त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

सोमबार सूचना जारी गर्दै विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयले बढ्दो कोभिड- १९ का कारण मंगलबारदेखि सबै तहका परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

‘२०७८।०१।१३ गते बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुसार पूर्वनिर्धारित भएअनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका सम्पूर्ण परीक्षाहरू मिति २०७८।०१।१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ‚ ’ विश्वविद्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

हाल सञ्चालन भइरहेका र आगामी दिनमा सञ्चालन हुने परीक्षा मिति तोकिएका परीक्षाहरू पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भएपनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन ।

May be an image of text

प्रतिक्रिया