गण्डकी प्रदेश : संसद्को अधिवेशन आजबाट, मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने

काठमाडौं । गण्डकी प्रदेश सभाको विशेष संसद् अधिवेशन सोमवार (आज) बाट शुरु हुँदैछ । आफूविरुद्धको अविश्वास प्रस्तावको सुइँको पाएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गत बैशाख १ गते नै अधिवेशन अन्त्य गरेका थिए । तर, त्यसपछि सभामा प्रतिनिधित्व गर्ने अन्य दलले संसद्को विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन पेश गरेका थिए । तत्पश्चात् प्रमुख शेरचनले आजबाट अधिवेशन आह्वान गरेका हुन् । जसअनुसार आजबाट प्रदेशसभाको अधिवेशन शुरु हुन लागेको हो ।

आजबाट शुरु हुने अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ । आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित कांग्रेस मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरु प्रदेशसभा सदस्यले बोल्न समय पाउनेछन् । प्रदेशसभा सचिवालयकाअनुसार अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि बल्ल मतदान हुनेछ ।

अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने विश्वास विपक्षी दललाई छ । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पनि आफ्नो दलले प्रस्तावको पक्षमै मतदान गर्ने बचन अन्य तीन दललाई दिइसकेका छन् । अध्यक्ष केसीले मकालु खबरसँग भने– ‘जनमोर्चा न सरकारलाई समर्थन गर्छ नसरकारमै जान्छ । प्रतिगमनतिर जाने दललाई कसैले समर्थन गरेर बस्दैन ।’

प्रदेशमा २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा परेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन्  । यस्तै जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकजना सांसद छन् ।

प्रतिक्रिया