‘अदालतको आदेशविपरीत पत्रकार पक्राउ’

काठमाडौं । उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई पक्राउ गरेर सरकारले अदालतको आदेशलाई अटेर गरेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले उच्च अदालत पाटनले यसअघि नै ‘समाचारको विषयमा टुंगो नलागेसम्म पत्रकारलाई पक्राउ नगर्नू/नगराउनू’ भनी दिएको आदेशको उल्लंघन भएको जनाएको हो ।
आइतबार नै उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई प्रहरीले पक्राउ गरेपछि महासंघले यसप्रति ध्यानाकर्षण जनाउँदै पक्राउ परेका पत्रकारद्वयलाई रिहा नगरे अदालत जाने चेतावनीसमेत दिएको छ ।
‘समाचारका विषयमा चित्त नबुझे त्यसप्रति असन्तुष्टी जनाउने त्यसका निश्चित विधि र प्रक्रिया छन् । त्यसलाई व्यवस्था गर्दै सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रतामाथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ छ‚’ महासंघले लेखेको छ‚ ‘तसर्थ प्रेस स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न नेपाल पत्रकार महासंघ नेपाल सरकार र त्यसमातहतका सबै निकायको ध्यानाकर्षण गराउँछ ।’









