गण्डकी प्रदेश: विपक्षी दलको संयुक्त बैठक बस्दै, अविश्वास प्रस्तावबारे आजै निर्णयमा पुग्ने

काठमाडौं । नेकपा एमाले नेतृत्वको सरकारविरुद्ध एक ठाउँमा उभिएका गण्डकी प्रदेशका विपक्षी दलको संयुक्त बैठक आज बस्दैछ । प्रदेशमा सोमबारबाट संसद्को विशेष अधिवेशन शुरु हुँदैछ ।

अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित गराउने विषयमा छलफल गर्न संयुक्त बैठक बस्न लागेको स्रोतले मकालु खबरलाई बतायो । ‘भोलिबाट प्रदेशमा संसद्को विशेष अधिवेशन शुरु हुँदैछ,’ स्रोतले भन्यो, ‘त्यही अधिवेशनमार्फत अविश्वासको प्रस्ताव पास गराउनेगरी हामी तयारीमा जुटेको छौँ । जसमा आज अलिक डिटेलमा छलफल गर्नेछौँ र सहमति जुटाउनेछौँ ।’

यसअघि प्रदेशका ठूला दलहरुले अविश्वास प्रस्तावबारे मोटामोटी छलफल गरिसकेका छन् । आजको बैठकले सोही विषयलाई अन्तिम रुप दिन राष्ट्रिय जनमोर्चासहितको चार दलको संयुक्त बैठक बस्न लागेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मकालु खबरलाई जानकारी दिए ।

प्रदेशमा तीन सिट भएको जनमोर्चा पनि अहिलेको लागि निर्णायक भएको दाबी गर्दै अध्यक्ष केसीले आफूहरुले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तर सरकारमा नजाने बताए । ‘गत वर्षको पुस ५ गते प्रधानमन्त्रीले गरेको गल्तीका कारण जनमोर्चाले सरकारलाई समर्थन गरिरहन नसक्ने भएको हो,’ अध्यक्ष केसीले भने– ‘जनमोर्चा न सरकारमा जान्छ, न सरकारलाई दिएको समर्थनै गर्छ ।’

अध्यक्ष केसीले प्रदेशका जिम्मेवार पार्टीका नेताहरुसँग छलफल गरिसकेको बताए । ‘आजको बैठकबारे मैले पनि पार्टीका नेताहरुलाई ब्रिफिङ् गरिसकेको छु,’ नेता केसीले भने– ‘सायद विपक्षी दलको संयुक्त बैठकले आजै एकखाले निष्कर्ष निकाल्नेछ ।’

अविश्वास प्रस्तावको सुइँको पाएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते नै संसद् अधिवेशन अन्त्य गरेका थिए । तर, पुनः चार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाले संसद्को विशेष अधिवेशन आह्वान गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन पेश गरेका थिए । सोहीबमोजिम प्रमुख शेरचनले १३ गतेका लागि अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को ३ मा प्रदेशका एक चौंथाइ सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ ।

भोलिबाट शुरु हुने संसद्को विशेष अधिवेशनलाई कसरी अगाडि बढाउने भन्नेबारे आजै त्यहाँ संसद्को कार्य व्यवस्था समितिको बैठक बस्दैछ । यता संयुक्त दलका नेताहरुले भने बैठक शुरु हुनासाथ अविश्वासको प्रस्तावमाथि ‘भोटिङ्ग’ हुने दाबी गरेका छन् । कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बहुमत पुर्याउन विपक्षी सबै सांसदको मत आवश्यक पर्छ । जसका लागि आज सहमति जुट्ने नेताहरुको भनाइ छ ।

६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सदस्य छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया