नेपाल अफ्रिका फिल्म फेस्टिभलमा आज दश चलचित्र देखाइदै

काठमाडौँ । शुक्रबारदेखि काठमाडौँस्थित नाचघरमा नवौँ नेपाल अफ्रिका फिल्म फेस्टिभल सुरु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हाे ।

उद्घाटन समारोहमा अफ्रिकन गायिका बियोन्सेले फूलबुट्टे सारी गीत गएकी थिइन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिसकेशनको आयोजनामा प्रारम्भ भएको यो फेस्टिभलको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्ता महोत्सवले नेपाल अफ्रिकाको सम्बन्ध सधैँ राम्रो हुने बताए । विभिन्न अफ्रिकन मुलुकका चलचित्र खोजेर महोत्सव गर्नु पनि राम्रो भएको मन्त्री ज्ञवालीकाे भनाई छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले मन्त्री ज्ञवालीको भनाइलाई समर्थन गर्दै सरकारले विदेशमा रहेका नेपाली दूतावासमार्फत चलचित्र महोत्सव गर्नेबारे आफूहरूले पहल गर्दै आएको जानकारी गराए । यस्तै नेपाल अफ्रिका चलचित्र महोत्सवसँग बोर्ड सुरुदेखि नै जोडिएको र यस्तो महोत्सवले नेपाली चलचित्रको विकासमा ठुलो मद्दत पुग्ने बताए ।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले अफ्रिका र नेपाललाई सांस्कृतिक रूपमा जोड्न नियमित रूपमा यो महोत्सव गर्दै आएको आयोजक संस्थाकी अध्यक्ष डा. मञ्जु मिश्रले बताइन् । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले आफू सुरुका दिनदेखि नै नेपाल अफ्रिका फिल्म महोत्सवसँग नजिक रहेको र महोत्सवमा सांस्कृतिक संस्थानले पनि सहकार्य गर्दै आएको बताए ।

महोत्सवमा आइतबार ११ बजेदेखि २ बजेसम्म नेपाली र अफ्रिकन चलचित्रबारे कार्यशाला आयोजना गरिने महोत्सवका निर्देशक डब्बु क्षत्रीले बताए । महोत्सवमा यस पटक ८ लामा/छोटा नेपाली चलचित्र र ९ वटा अफ्रिकन चलचित्र प्रदर्शन गरिने छ । महोत्सवमा सांस्कृतिक संस्थानका कलाकारले विभिन्न लोक नृत्य प्रस्तुत गरेर दर्शकको मन जिते ।

महोत्सवमा चयन भएका १५ वटा चलचित्रमध्ये शुक्रबार पहिलो दिन पाँच चलचित्र प्रदर्शन गरियो । महोत्सव उद्घाटनमा जिम्वावेको चलचित्र गुड म्यान प्रदर्शन गरिएको थियो । इजिप्टको चलचित्र बबल्स र ड्राई हट समर, नामिभिया एवम् ब्राजिलको फिल्म बडी गेम प्रदर्शन गरियो । हिमाल उप्रेती निर्देशित तथा भूपेन्द्र कुमार खड्का निर्मित चलचित्र आमा समेत प्रदर्शन गरिएको थियो ।

शनिबार आज माधवराज खरेलको दुर्गामाण्डुसहित गणेशजंग रावलको समस्या, सजल लोप्चनको गाइड र पुरुषोत्तम बस्नेतको चलचित्र सुरक्षा प्रदर्शन गरिंदैछ । शनिबार नै पाँच वटा अफ्रिकन चलचित्र पनि प्रदर्शन गरिँदै छ । महोत्सव आइतबारसम्म चल्ने छ ।

प्रतिक्रिया