नोबेलमा सुरु भयो बाँझोपनको उपचार

काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उपचार र कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ । निःसन्तान दम्पतीलाई उपचार गरी सन्तान हुँने बनाउँन र कृत्रिम गर्भाधान गरी बच्चा जन्माउँन आइभीएफ सेन्टर सञ्चालन गरिएको हाे ।
नेपालकै सबैभन्दा ठूलो आइभीएफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको एक कार्यक्रमकाबीच उद्घाटन गरिएको जनाएको छ । नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माकी आमा होमादेवी न्यौपानेले रिवन काटेर आइभीएफ सेन्टरको उद्घाटन गरेकि हुन् ।
कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माले सन्तान नजन्मिएर समस्या ब्यहोरिरहेका दम्पतीहरुलाई लक्षित गरेर आइभीएफ सेन्टर सञ्चालन गरिएको भन्दै सन्तान नहुँदा निराश भइरहेका दम्पतीहरुमा अब सन्तानको खुशी ल्याउँने काम गर्ने धारणा राखिन् ।
सो अवसरमा आइभीएफ सेन्टरका प्रमुख एवं बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.शान्ति सुवेदीले अब निःसन्तान दम्पतीले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै नोबेलले निःसन्तान सम्बन्धि सबै किसिमको उपचार गर्ने बताइन् ।

नोबेलले ३ करोड ९५ लाखको लागतमा आइभीएफ सेन्टर सञ्चालन गरेको हो । निःसन्तान दम्पतीका लागि जुनसुकै मूलुकमा हुँने जस्तोसुकै उपचार पनि अब नोबेलमा हुँने बताइएको छ ।
आइभीएफ सेन्टर सञ्चालनसँगै आइभीएफ सम्बन्धि तालिमका लागि नेपालकै ठूलो तालिम केन्द्र पनि सञ्चालन गरिएको नोबेल अस्पतालले जनाएको छ ।








