नर्भिक बन्यो नेपाल सुपरलिगको मेडिकल पार्टनर

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक इन्टरनेशनल हस्पिटल अनुबन्धित भएको छ ।

नेपाल सुपरलिगको तर्फबाट नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको अस्पतालले जनाएको छ । सम्झौतामा नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका डिरेक्टर श्रेयांश कार्कीले हस्ताक्षर गरेका छन् ।

सात टिमको फ्रेञ्चाइज फुटबल प्रतियोगिता स्वास्थ्यका सबै मापदण्ड पालना गरी बैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुँदैछ । नेपाल सुपर लिगको अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसर सहितको टिम मैदानमै रहने जनाएको छ ।

आधारभूत औषधि तथा अन्य स्वास्थ्य सामाग्रीसहितको नर्भिकको लोगो अंकित मेडिकल ब्याग खेलमा सहभागी प्रत्येक टिमका लागि उपलब्ध गराइने सम्झौतामा उल्लेख भउको बताएको छ । नर्भिकले यो अवधिमा खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्नु परे विशेष छुटमा त्यस्तो सेवा समेत उपलब्ध गराउने जनाएको छ ।

कुनै खेलाडीमा कोभिड संक्रमण देखिए तिनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत उपलब्ध हुने बताएको छ । रंगशालामा संभव नहुने उपचारका लागि कुनै खेलाडी, दर्शक वा आयोजकका सदस्यलाई अस्पताल लैजानु परे त्यहाँ लाग्ने सबै उपचार खर्च स्वयम् बिरामीले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिने जनाएको छ । सम्झौतापछि प्रतिक्रिया दिंदै नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीले नेपालमै पहिलोपटक आयोजना हुन लागेको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् ।

हरेक क्षेत्र र वर्गका मानिसहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको नर्भिकले आगामी दिनमा यस्तै अन्य इभेन्ट्सहरुमा समेत सहकार्य गर्ने नीति लिएको उनको भनाई छ ।

प्रतिक्रिया