गण्डकी प्रदेश : संसद्को विशेष अधिवेशन आह्वान

कठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन बैशाख १३ गतेदेखि शुरु हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि अन्त्य भएको अधिवेशन विपक्षी दलहरुले दिएको समावेदनका आधारमा पुनः सञ्चालन हुने भएको हो ।

कांग्रेस, माओवादी, जसपालगायतका दलले समावेदन दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् । अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि प्रदेश सरकारले १ गते बुधबार राति नै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

त्यसका बाबजुद तीन दलले वैशाख २ गते मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । लगत्तै प्रदेश प्रमुखको कार्यालयमा पुगेर विशेष अधिवेशनका लागि समावेदन दिएका थिए ।

संविधानको धारा १८३ को ३ मा प्रदेशका एक चौंथाइ सांसदले विशेष अधिवेशन माग गर्ने व्यवस्था छ । विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसँग निवेदन दिए त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति प्रदेश प्रमुखले तोक्ने व्यवस्था छ । सोहीबमोजिम प्रमुख शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री गुरुङले नेतृत्व गरेको एमालेका २७ प्रदेशसभा सदस्य छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, जसपाका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया