विद्यार्थीका पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले वैशाख मसान्तसम्मका लागि विद्यालय बन्द गरिएपनि पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणका कारण विद्यालय बन्द भएपनि पूर्वनिर्धारित परीक्षा भने गर्न दिइने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले स्कुल, विश्वविद्यालय र चिकित्सा शिक्षाको प्रयोगात्मक परीक्षा निरन्तर हुने निर्णय गरिएको बताए ।

त्यस्तै बैठकले राति ८ बजेपछि रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको छ भने बिहान ८ देखि राति ८ बजेसम्म मात्रै रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको उनले उल्लेख गरे ।

८ बजेपछि होम डेलिभरी भने गर्न पाउने निर्णय गरिएको र राजमार्गका होटल स्वास्थ्य मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने पाइने निर्णय बैठकले गरेको छ ।

यसैगरी लामो दूरी सवारी आवत जावत गर्नुपरेमा यात्रुले सिडियो कार्यालयमा अगाडि नै जानकारी दिइसक्नुपर्ने मन्त्री गुरुङले बताए । त्यस्तै सार्वजनिक सवारी साधनमा मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ भने सिट क्षमता भन्दा बढी राख्न पाइनेछैन ।

प्रतिक्रिया