जब रङ्गभेदले रुवायो, अनि लडिन् आफ्नो हकको लागि

रङको संसार अद्वितीय छ । हरेक रङ अनुपम छ । तर मानिसको संसारमा जब रङको कुरा आउँछ, यसले मानिसलाई रुवाउँछ । रङले मानिसलाई भेदभाव गर्दैन तर मानिसले रङको आधारमा भेदभाव गर्छन् । यहाँ पाइला पाइलामा रङको जाल बिछ्याइएको हुन्थ्यो । यस्तो जाल‚ जहाँ कहिल्यै श्वेतहरू पर्दैनथे । पर्थे त सधैं अश्वेतहरू । यहाँ एउटामात्र काम हुन्थ्यो‚ आफ्नो छालाको रङ हेर्ने अनि अर्काको छालाको रङ हेर्ने । त्यसपछि आफ्नो छालाको रङअनुसार आफू श्वेत वा अश्वेत कुन वर्गमा पर्छु छुट्याउने ।

त्यसदिन अमेरिकाको मोन्टगोमेरीस्थित आफ्नो कार्यालयबाट सिटी बसमा उनी घर फर्किँदै थिइन् । सिटी बसका अगाडिका ४ वटा लाइन श्वेतहरुका लागि आरक्षित हुन्थे । जहाँ अश्वेतले बस्न पाउँदैन थिए । उनी श्वेतलाई छुट्याइएका चार लाइन पछिको पहिलो अर्थात् समग्रमा पाँचौ लाइनको एक सिटमा गएर बसिन् ।

अघिल्लो स्टेशनमा पुग्दासम्म बसमा धेरै यात्रु चढे । भिडका कारण ४ जना श्वेत यात्रु उभिनु पर्‍यो । अश्वेत सजिलोसँग बस्ने अनि श्वेत उभिने यो श्वेतहरुका लागि सहिसक्नु थिएन । यत्तिकैमा सिटी बसका चालक कराए, ‘श्वेतलाई ४ सिट खाली गर्दिहाल ।’

तीनजना अश्वेतले तत्काल चालकको आज्ञा पालन गर्दै श्वेतका लागि सिट खाली गर्न जुरुक्क उठिदिए ।
तर रोजा पार्क्स भने सिटमा बस्नेमात्र होइन झ्यालपट्टिको सिटमा गएर झन् सजिलोसँग बसिन् । रोजाले नटेरेको देखेर बस चालक फेरि बोले, ‘तैँले सुनिनस् मैले के भने ? सिट छोड्दे भनेको ।’ रोजाले जवाफ फर्काइन्,‘ म आफ्नै सिटमा बसेकी हुँ । यो श्वेतको सीट होइन । तपाईंलाई विश्वास लाग्दैन भने आएर चेक गर्न सक्नुहुन्छ ।’

चालक रोजाको कुरामा पटक्कै सहमत हुनेवाला थिएन । ऊ फेरि करायो, ‘मैले भनेपछि त्यो सिट श्वेतको लागि खुरुक्क खाली गर्दे ।’ रोजाको साहस पनि सम्झौता गर्न तयार थिएन । उनी बसेरै सोचिरहेकी थिइन्, ‘जति यी श्वेतका लागि झुकेर घुँडा टेकिन्छ‚ त्यति यिनीहरू हामीलाई झुकाउँदै जान्छन्, घुँडा टेकाउँदै जान्छन् । झुक्दा झुक्दै कहिलेकाहीँ त यस्तो लाग्छ‚ अब फेरी शिर उठाएर बाँच्न सकिँदैन क्यारे । आज म पनि विचार गर्छु‚ हामीलाई मान्छेजस्तो व्यवहार गरिन्छ कि गरिँदैन । देशको नागरिक भएको हैसियतले हाम्रो औकात के हो ?

सन् १९९५ डिसेम्बर पहिलो तारिखको त्यो एक चिसो साँझ रोजाले भने सामर्थ्यको कम्बल ओढेकी थिइन् ।

आफ्नो कार्यालयमा काम गरेर त्यति कहिल्यै थाकेकी थिइनन् रोजा‚ जति उनी आफूले पाउनुपर्ने हक श्वेतका लागि छोड्दा छोड्दै थाकेकी थिइन् । यो पटक भने रोजाले सिटबाट उठ्न ठाडै अस्वीकार गरिदिइन् । चालकले रोजामाथि धम्कीको भाषा प्रयोग गर्‍यो, ‘सिटबाट उठिनस् भने प्रहरी बोलाउछु ।’ रोजाले शाहस गरेर चालकको धम्कीलाई बेवास्ता गर्दै सिटमा बसिरहिन् । बसका अरु श्वेतहरु आवेशमा मात्र आएनन्‚ उत्तेजित पनि भइरहेका थिए । श्वेतको नेतृत्व भने बस चालकले नै गरिरहेको थियो ।

चालकलाई यो घमन्ड थियो की उसले आज एक अश्वेतको दिमाग राम्रोसँग ठेगान लगाएको छ ।

अश्वेतको अपमान गर्नु उक्त बस चालकको नियमित कामजस्तै थियो । चालकले रोजालाई गिराएको, अपमान गरेको यो पहिलो पटक होइन । बस चालकले बिर्सिए पनि रोजाले भने आफू पहिले अपमानित भएको कुरा बिर्सिएकी थिइनन् ।

त्यो करिब १२ वर्ष पहिलेको घटना थियो । यही ड्राइभरको बसमा रोजा अगाडिको ढोकाबाट चढिन् । टिकट लिएर सिटमा बसेकी मात्र थिइन्‚ ड्राइभर रोजालाई कराउन थाल्यो, ‘तँ अगाडिको ढोकाबाट चढ्न पाउँदिनस् ।

गाडीबाट ओर्लिएर पछिल्लो ढोकाबाट चढ् ।’ अपमानको त्यो वाक्य सुनेर रोजा पछाडिको ढोकाबाट चढ्न गाडीबाट ओर्लिइन् । त्यही बेलामा ड्राइभरले गाडी कुदायो । रोजालाई चढ्ने मौका नै दिइएन । बाहिर पानी परिरहेको थियो । रोजा पानीमा भिज्दै अर्को बस पर्खिरहिन् । त्यो बेला रोजाको मन निकै रोएको थियो ।

आज १२ वर्षपछि फेरि रोजा त्यही बसमा परेकी थिइन् । अपमान खेप्न । नतिजामा के भयो भने प्रहरी आएर रोजालाई जबरजस्ती सिटबाट उठाएर गिरफ्तार गर्‍यो । रोजाले बिन्ती गरिन्, रोइन्, कराइन् प्रहरीलाई सोधिन् मैले के गल्ती गरेँ ? तपाईंलाई मलाई गिरफ्तार गर्ने अधिकार कसले दियो ?

प्रहरीले जवाफ दियो, ‘म यसमा केही गर्न सक्दिनँ । सिटीको कानुन नै यस्तै छ ।’ लोकतन्त्र, धर्म, मानवताले त्यहाँ कुनै काम गरेन । प्रहरीले गिरफ्तार गरेर रोजालाई बसबाट उतारी छाड्यो ।

रोजा बसबाट उत्रिनेबित्तिकै बस वेगले दौडिहाल्यो । रोजालाई भने आफ्नो विद्यार्थी जीवनको याद आयो । श्वेत बच्चाहरू बसमा विद्यालय जान्थे । अनि अश्वेत बच्चाहरुलाई त्यो व्यवस्था थिएन । उनीहरू श्वेत बच्चा चढेको बसको नजिकैबाट टुलुटुलु हेर्दै हिँड्थे । अश्वेत बच्चाहरू कयौँ किलोमिटर पैदल नै हिँड्थे । कष्ट, अपमान झेलेरै भएपनि पढ्थे लेख्थे । आज प्रहरीले पक्राउ गरेर लैजाँदै गर्दा रोजाको मनमा भेदभावका सबै घाउहरु चर्‍याइरहेका थिए । यो घटनाले अमेरिकामा नयाँ स्वतन्त्रता क्रान्तिको सुरुवात गरिदियो ।

रोजा पार्क्स (१९१३–२००५) को मात्र होइन एक-एक अश्वेतको पिडा थियो यो ।

त्यो घटनापछि अश्वेतहरुले रङ्गभेद गर्ने सिटी बसमा कोही अश्वेत कहिल्यै नचढ्ने निर्णय गरे । बसमा नचढ्ने भन्दै हड्ताल गरे । गरिब अश्वेतहरू श्वेतले हर्न बजाएर बोलाउँदा पनि बेवास्ता गरेर २० किलोमिटरसम्म पैदल हिँडेर विद्यालय र कार्यालय जान थाले । यो हड्ताल एक वर्षसम्म चल्यो । त्यसपछि अदालतले भेदभाव हटाउने कानुन बनाउन आदेश दियो । सरकारले बाध्य भएर कानुन बनाउनुपर्‍यो । त्यो सफलतापछि रोजा पार्क्सलाई पुरै अमेरिकाले ‘आइरन लेडी’ मान्यो । अमेरिकी कांग्रेसले रोजालाई ‘द फर्स्ट लेडी अफ सिभिल राइट्स’ र ‘द मदर अफ फ्रिडम मुभमेन्ट’ अवार्डले सम्मान गर्‍यो ।

(मनिषा पौडेलद्वारा लाइभ हिन्दुस्थानबाट अनुवादित ।)

प्रतिक्रिया